काठमाडौं। कर्णाली प्रदेशको कुल विद्युत् उत्पादन क्षमता १८ हजार मेगावाट भएको भएपनि हाल १०.७० मेगावाट मात्रै उत्पादन भइरहेको छ । आर्थिक वर्ष ०७७र७८ मा आधारित नेपाल राष्ट्र बैंकको ‘आर्थिक गतिविधि अध्ययन (कर्णाली प्रदेश)’ अनुसार हाल कर्णाली प्रदेशमा १०.७० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
कर्णाली, तिला र भेरी नदीमा गरिएको सम्भाव्यता अध्ययनअनुसार यस प्रदेशको कुल जलविद्युत् उत्पादन क्षमता करिब १८ हजार मेगावाट रहेको छ। जसमध्ये सबैभन्दा धेरै ८.५५ मेगावाट विद्युत् उत्पादन दैलेखबाट भएको छ भने सबैभन्दा कम डोल्पा र जुम्लाबाट समान ०.२० मेगावाट विद्युत् उत्पादन भएको छ। दैलेखमा रहेका पदम खोला र द्वारी खोला साना जलविद्युत् आयोजनाबाट क्रमशः ४.८ मेगावाट र ३.७५ मेगावाट, हुम्लाबाट ०.५० मेगावाट, मुगु र कालिकोट जिल्लाबाट समान ०.४० मेगावाट र रुकुम पश्चिम जिल्लाबाट ०.३५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
यसैगरी हुम्लाको सिमिकोट र मुगुको गमगढीबाट ५० किलोवाटबराबरको सौर्य ऊर्जा उत्पादन भइरहेको छ भने सुर्खेत जिल्लामा रहेको ३४५ किलोवाट क्षमताको झुप्रा विद्युत्गृह हाल सञ्चालनमा रहेको छैन। कर्णाली प्रदेश क्षेत्रफलको हिसाबले अन्य प्रदेशभन्दा ठूलो भएकाले सो क्षेत्रको हरेक घर तथा बस्तीमा बिजुलीको सुविधा पुर्याउनु चुनौतीपूर्ण रहेको छ । सो क्षेत्रमा सबैभन्दा धेरै विद्युत् प्रसारण लाइन १ हजार ५ सय ४३ किमि रुकुम पश्चिममा रहेको छ भने सबैभन्दा कम ५५.२८ किमि जुम्लामा रहेको छ।
यसैगरी, सुर्खेतमा १ हजार १ सय ५९ किमि, सल्यानमा १ हजार ९५.५२ किमि, दैलेखमा ६ सय ४२ किमि, कालिकोटमा ५ सय १४.०३ किमि, जाजरकोटमा २ सय ८९ किमि, डोल्पामा १ सय २५.२१ किमि, हुम्लामा १ सय १४ किमि र मुगुमा ९९.४ किमि विद्युत् प्रसारण लाइन रहेको छ। सो क्षेत्रमा अहिलेसम्म कुनै पनि ठूला जलविद्युत् आयोजनाहरू सञ्चालनमा रहेका छैनन्।