काठमाडौं। दाङको घोराही-तुलसीपुर चार लेन सडक निर्माण गर्न तीन निर्माण कम्पनीलाई पेटी ठेक्का दिइएको छ। घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको हो।
यो भन्दा अगाडी सडक निर्माणको जिम्मा पाएको स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीले समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफैं सडक निर्माण गर्ने बताएको भारतीय निर्माण कम्पनी तथ्यले पुनः अरु तीन निर्माण कम्पनीहरुलाई सडक निर्माणको जिम्मा दिएको कम्पनीका प्रतिनिधि विजय पाठकले जानकारी दिए।
तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले यसअघिको पेटी ठेक्का रद्ध गरेर कम्पनीले आफैं निर्माण गर्ने भन्दै गत मंसिर १० गते घोराहीमा चार लेन सडक निर्माणको शुभारम्भ समेत गरेको थियो।
तर तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले पुनः पेटी ठेक्काका रुपमा बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिएको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिका प्रतिनिधि पाठकले बताए।
तीन वटा निर्माण कम्पनीले उक्त सडक खण्डमा १४.४६ किलोमिटर सडक चार लेन र १३.७३ किलोमिटर सडक दुई लेन सडकका रुपमा निर्माण गर्नेछन्।
निर्माण कम्पनीका अनुसार बबई नदीदेखि-कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दूधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन र घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तीखौवासम्म ८.३१ किलोमिटर सडक चार लेन बनाउने गरी सम्झौता भएको छ।