काठमाडौं। म्याग्दीमा पर्यटकीय आकर्षणको रुपमा पुनहिल, केभहिल, ताकम, झाँक्रीपानी, टोड्के, लभ्लीहिल, मालिका, भेडीओडार आदि रहेका छन्। पछिल्लो समय भेडीओडार पनि आन्तरिक पर्यटन हबका रुपमा विकास हुँदै आएको छ। रघुगंगा गाउँपालिका–२ मा पर्ने भेडीओढार (२५०० मिटर) बाट हिमाल, सूर्योदय र सूर्यास्तको मनोरम दृश्य देख्न सकिने जनाइएको छ। उक्त आडारबाट पुनहिलबाट जस्तै रमणीय दृश्यहरु अवलोकन गर्न सकिन्छ।
उक्त ओडारमा हिउँदको समयमा भेडा राखिने भएकाले ओडारको नाम भेडीओढार राखिएको जनाइएको छ। सो ओढार भन्दा माथीको ढुँगामा रेलिङ र छत राखेर भ्यू पोइन्ट बनाइएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि प्रवर्द्धन गर्न छानेका सय गन्तव्यको सूचीमा ‘रूइसे–भेडीओढार–धौलागिरि आइसफल पदमार्ग’ पनि परेको थियो। भेडीओढारको बेस क्याम्पको रुपमा चिनिने रुइसे पिकनिक स्पटका रुपमा विकसित हुनुका साथै सडक सञ्जालसँग पनि जोडिएको छ। सो क्षेत्रमा होटलको व्यवस्था पनि रहेको छ।
रघुगंगा गाउँपालिकाले रूइसे क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिएको छ। भेडीओढार बाटोमा अवस्थित राखु कोट भगवती मन्दिरको हालै पुरातत्व विभागको सहयोगमा पुननिर्माण भएको छ। भगवती दर्शनले मनोकामना पुरा हुने विश्वास रहेको सो मन्दिर संरक्षण समितिकाले जनाएको छ।
यत्तिबेला आन्तरिक पर्यटकका लागि भेडीओढार आकर्षक स्थल रहेको छ। रूइसे नजिकैका गाउँहरू सिजल, साझापानी र बेग सिरुबारीमा होमस्टे निर्माण गर्न आवश्यक देखिएको छ। भेडीओढारजस्ता नयाँ पर्यटकीय गन्तव्यहरु मात्रै नभएर समग्र म्याग्दीका पर्यटकीय सम्पदा समेटेर फोटो बुक प्रकाशन हुने भएको छ। म्याग्दीका पर्यटन अभियन्ता राजेश शाक्यको पहलमा प्रकाशन हुन लागेको पुस्तक म्याग्दी चिनाउने आँखिझ्याल बन्न सक्ने विश्वास गरिएको छ।