काठमाडौं। लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल छेउमा बनाइएको नयाँ हेलिप्याड छिटै सञ्चालनमा नआउने भएको छ। प्राविधिक निरीक्षणमा गरिएको परीक्षणबाट उडानमा तारबारले अवरोध पुर्याउने देखिएको विमानस्थल प्रमुख द्वारिका अछामीले जानकारी दिए।
शुक्रबार टेस्ट फ्लाइट गरिएको थियो। सुरक्षा परीक्षण र निरीक्षणका लागि प्राविधिक टोली आएको थियो। वरपर गरिएको तारबारले अवरोध हुने प्रारम्भिक रिपोर्ट आएपछि संचालनमा ल्याउनु भन्दा अगाडी १।२ वटा समस्या समाधान गरेर मात्र अगाडी बढ्ने उनले बताए।
निर्माण सुरु भएको तीन वर्षपछि लुक्लामा भ्याटसहित ३२ करोड रुपैयाँमाथिको लागतमा नयाँ हेलिप्याड तयार भएको हो।
प्राधिकरणका अनुसार उक्त हेलिप्याड संचालनमा आएसँगै लुक्ला हुँदै नाम्चे, स्याङ्बोचे, त्याङ्बोचे, फेरिचे, लोबुचे, गोरक्षेप, एभरेष्ट बेसक्याम्प, अमादब्लम बेसक्याम्प, कालापत्थर, कोङ्दे, थामे लगायत गन्तब्यमा घुम्न आउने पर्यटकका लागि थप सहज हुने छ।
प्राधिकरणले आफ्नो जग्गासँगै निजी जग्गा लिएर नयाँ हेलिप्याड निर्माण गरेको हो। हाल संचालनमा आइरहेको हेलिप्याडमा पाँचवटा पार्किङ क्षमता छ।