काठमाडौं। कोइलामा आधारित विद्युतमाथिको निर्भरता कम गराउन नवीकरणीय ऊर्जामा लगानी बृद्धि गरिरहेको भारतले सौर्य ऊर्जा उत्पादन लगभग साढे २ सय प्रतिशत बढाएको छ। पछिल्लो ११ महिनामा सन् २०२० को तुलना आक्रमकरूपमा भारतको सौर्य ऊर्जा उत्पादन बढाएको हो।
सन् २०२१ को जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा सौर्य विद्युत आयोजनाबाट उत्पादन भएको ११ हजार १ सय मेगावाट प्रसारण प्रणालीमा थपिएको त्यहाँको नवीकरणीय ऊर्जा मन्त्रालयको तथ्यांकलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।
सबैभन्दा बढी सौर्य विद्युत राजस्थान राज्यले प्रणालीमा जोडेको छ। रिर्पोट अनुसार उक्त राज्यले ३ हजार ६ सय १५ मेगावाट विद्युत यो वर्ष सौर्य ऊर्जाका स्रोतबाट उत्पादन गरेको छ। यसैगरी, गुजरात राज्यले १५ सय ३८ मेगावाट, र उत्तर प्रदेश राज्यले ६ सय ७४ मेगावाट विद्युत प्रणालीमा थप गरेको छ।
मन्त्रालयका अनुसार १ वर्षमा हालसम्मकै बढी सौर्य विद्युत उत्पादन हुँदा नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको विद्युतको जडित क्षमता १ लाख ४ हजार मेगावाट पुगेको छ। नवीकरणीय ऊर्जाका स्रोतबाट उत्पादन भएको कूल विद्युत जडित क्षमतामा सौर्य विद्युतको हिस्सा ४७ प्रतिशत पुगेको रिपोर्टमा उल्लेख गरिएको छ।
९ महिनामा सौर्य विद्युत आयोजनाको ७ हजार मेगावाट विद्युत प्रणालीमा जोडिएको थियो। थप २ हजार मेगावाट विद्युत पछिल्लो २ महिनामा मात्रै प्रणालीमा आएको हो।
बढ्दो कार्बन उत्सर्जन कम गर्न तथा प्रसारण र वितरण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउनका लागि नवीकरणीय ऊर्जा उत्पादन बढाउनु पर्ने चुनौती भारतलाई छ। भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता जनाएकाले पनि नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउँदै लगेको छ।