काठमाडौं। काठमाडौं महानगरका प्रमुख बालेन साहले बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरेको जानकारी दिएका छन्।
महानगरले निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरेको हो।
टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको समेत प्रमुख साहले बताए।
वंशीघाट (विश्व निकेतन विद्यालय पछाडि), कुशेश्वर, कपुर धारा, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धारा, कपन, शंखमुल, न्युरोड, गणेशस्थानलगायत स्थानको समस्या समाधान भइरहेको छ । स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरिरहेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाका हटलाइन्हरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी दिन समेत महानगरले अनुरोध गरेको छ।