नवलपरासी। विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ यतिबेला महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न पुगेको छ।गिद्धको संरक्षणको उद्देश्यले नवलपरासीको पीठौलीमा सन् २००६ मा स्थापना गरिएको जटायु रेष्टुरेण्ट पर्यटकको आकर्षणको केन्द्र बन्न पुगेको हो।
गिद्धका साथै चराहरूको अध्ययन एवं पर्यापर्यटनमा रुची राख्नेका लागि यो स्थान पुग्नै पर्ने गन्तव्यका रुपमा विकास हुँदै गएको छ। लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा नै पहिलोपटक सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा विश्वकै पहिलो ‘जटायु रेष्टुरेण्ट’ स्थापना गरिएको थियो।
लोपोन्मुख गिद्धलाई विषादीरहित भोजन उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएको यो रेष्टुरेण्ट चरापर्यटनका साथै पर्यापर्यटनको रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्यका रुपमा विकास हुँदै गएको संरक्षणकर्मी एवं नवलपरासी जटायु रेष्टुरेण्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले जानकारी दिए।
रेस्टुरेण्टको स्थापनासँगै गिद्धको सङ्ख्या बढेको जानकारी दिँदै उनले देश विदेशका विभिन्न स्थानबाट गिद्धका क्रियाकलाप अवलोकन एवं अनुसन्धान गर्न पर्यटक आउन थालेको बताए।
विश्वमा पाइने २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका पाइन्छन्। नेपालमा पाइने गिद्धका प्रजातिमध्ये डङ्गर, सुन, सानो खैरो, हिमाली, हाडफोेर र सेतो गिद्ध यहाँका रैथाने प्रजातिका हुन् भने लामो ठुँडे, राज र खैरो गिद्ध हिउँदको समयमा आउने गर्दछन्। हिउँदको समयमा आउने लामो ठुँडे भारतबाट आउँछ भने खैरो गिद्ध मङ्गोलियाबाट आउँछन्। राज गिद्ध पाकिस्तान एवं किर्किस्तानबाट आउने गरेका छन्।
सङ्ख्यात्मक रुपमा नेपालमा पाइने हिमाली गिद्धको सङ्ख्या १० हजार, डङ्गोर र सेता गिद्धको सङ्ख्या दुई हजार रहेको छ। त्यस्तै नेपालमा सुन गिद्ध र हाडखोर गिद्ध पाँच/पाँच सयको सङ्ख्यामा पाइन्छ । नेपालमा पाइने सानो खैरो गिद्धको सङ्ख्या भने ५० देखि ७५ को हाराहारीमा रहेको अध्ययनले देखाएको छ । बढ्दो बस्ती विकासको क्रमसँगै गिद्धका प्रजाति लोप हुने अवस्थामा पुगेको यस क्षेत्रका अनुसन्धाकर्ता बताउँछन् । गिद्धको बासस्थान विशेष गरी अग्लो सिमलको रूख हो । गिद्धहरू सिमलका रूखमा बस्ने तथा गुण लगाउने गर्दछन् । पछिल्ला समयमा बस्ती तथा फाँटमा रहेका सिमलका रूख काटिँदा पनि उनीहरू समस्यामा पर्ने गरेको संरक्षणकर्मी चौधरीको भनाइ छ ।
आफ्नो बासस्थान नै हराउँदै जानुका साथै बढ्दो बस्ती विकास, धुलोधुवाँ लगायतका कारण पनि यिनीहरू संकटमा पर्दै अर्का संरक्षणकर्मी यामबहादुर नेपालीले बताए। विगत १६ वर्ष यता रेष्टुरेण्टमा गिद्धलाई खाना खुवाउने काममा आफू लागि रेहको बताउँदै नेपालीले यिनीहरूको संरक्षण पर्यावरण जोगाउननका लागि पनि आवश्यक भएको बताए।
विभिन्न अनुसन्धाता जटायु रेष्टुरेण्टमा पुगी गिद्धका क्रियाकलापको अवलोकन गर्ने गरेको बताउँदै उनले संरक्षणसँगै यो स्थललाई पर्यटनसँग जोड्ने प्रयास गरिएको बताए।
पछिल्ला समयमा गिद्धको संरक्षणका लागि नवलपरासीसँगै रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीलगायत स्थानमा यस्ता रेष्टुरेण्ट स्थापना गरिएका छन्। नवलपरासीको जटायु रेष्टुरेण्टमा उमेर पुगेका र छाडा चैपायाको संरक्षण पनि गर्ने गरिएको छ। यहाँ राखिएको गौशालामा किसानबाट उमेर पुगेका, अशक्त, बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गर्ने गरिएको छ ।
गाईगोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिने र त्यहाँ गिद्ध आएर खाने गर्दछन्। गिद्धको आनीबानी नजिकबाट लुकेर अवलोकन गर्नका लागि पर्यटक अवलोकन घर पनि बनाइएको उनले जानकारी दिए।