काठमाडौं। फ्रान्स सरकारले काठमाडौं उपत्यकामा यात्रु ओसार्ने केबलकार सेवा सञ्चालन गर्ने इच्छा राखेको छ। उक्त विषयमा प्रक्रिया अघि बढाउन सरकारलाई पुनः ध्यानाकर्षण गराएको हो।
फ्रान्सका राजदूत जिल बुरवाओले नेपालका लागि सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँगको भेटमा यो विषयलाई महत्व दिन अनुरोध गरेका छन्।
उनका अनुसार नेपालको ईच्छा भएमा केबलकार क्षेत्रको पूर्वाधार विकासमा फ्रान्स तत्काल सहयोग गर्न तयार छ। नेपाल र फ्रान्स दुबै पहाडी देश भएको र फ्रान्स सँग बढी केबलकारको अनुभव भएको कारणले गर्दा फ्रान्सले नेपाललाई सहयोग गर्न तयार भएको उनको भनाइ छ।
नेपालमा आउने जतिपनि फ्रान्सेली राजदूत छन् उनिहरुले यातायातमन्त्रीसँगको भेटमा यही कुरा दोहोर्याउँने गर्छन्। काठमाडौंका ४ वटा रुटमा केबलकार सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन सरकारसमक्ष फ्रान्सले बुझाइसकेको छ।
काठमाडौं उपत्यकामा २०७४ मा भएको विस्तृत सम्भाव्यता अध्ययनले व्यवसायिक रुपमा यात्रबाहक केबलकार सञ्चालन गर्न सकिने पुष्टी गरेको थियो। अध्ययनबाट १५ अर्ब रुपैयाँ लगानी गर्दा काठमाडौं उपत्यकामा यात्रु सेवाका लागि केबलकार सञ्चालन गर्न सकिने निष्कर्ष निकालीएको थियो।
सडकमा सवारी चाप घटाउन केबलकारको प्रयोग महत्वपूर्ण र वैज्ञानिक हुने ठहर प्रतिवेदनमा उल्लेख गरिएको छ। केबलकार निर्माणका लागि स्टेशनहरु बनाउन सरकारले जग्गा उपलब्ध गराउनुपर्ने सुझाव प्रतिवेदनमा छ।
सरकारले पहिलानै मोट्रो रेलसँगै केबलकार सञ्चालनबारे पनि सरकारी स्तरमा छलफल सुरु गरेको थियो। मन्त्रालयका अधिकारीहरुका अनुासर काठमाडौंमा समस्याको पाटो बनेको ट्राफिक व्यवस्थापनलाई हेर्दा यो सबैभन्दा वैज्ञानिक विकल्प हुने छ।