काठमाडौं। कात्तिक ६ गते (आज) नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको सय दिन पुगेको छ। सरकार गठन भएको पहिलो सय दिनमा आफ्नो मन्त्रालय अन्तर्गत भएका प्रगतिहरु विभिन्न मन्त्रालयहरुले सार्वजनिक गरेका छन्।
उर्जा क्षेत्रमा सरकारले याे सय दिनकाे अवधिमा केही महत्वपूर्ण काम गरेकाे देखिन्छ।
नेपाल विद्युत प्राधिकरणले गत साउनमा रु तीन अर्ब ९९ करोड ५६ लाख बराबरको विद्युत् निर्यात गरेको छ भने भदौमा रु तीन अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको छ। त्यसैले चालु आर्थिक वर्षको यो दुई महिनामा मात्रै सात अर्ब ५४ करोड ६१ लाख बराबरको विद्युत् भारततर्फ निर्यात भएको छ ।
यो सय दिनको अवधिमा सरकारले मुलुकको सबैभन्दा ठूलो जलविद्युत् उत्पादन केन्द्र ४५६ मेगावाटको माथिल्लो तामाकोशीको पुनः निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।
गत असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त आयोजनास्थलमै पुगेर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालगायतको उच्च पदस्थ टोलीले निरीक्षण गरी तत्काल मर्मत सकेर सञ्चालनमा ल्याउने दाबी समेत गरेको छ।
त्यसैगरी अगाडि बढ्न नसकेको सिन्धुपाल्चोकको मध्यभोटेकोशी जलविद्युत आयोजनाको समस्या समेत समाधान भएको छ।
त्यसैगरी वर्तमान सरकारको सय दिनभित्र अर्थात गत असोज १७ गते नेपाल र बङ्गलादेशबीच ४० मेगावाट बिजुली बिक्रीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
त्यस्तै सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बराबरको ऊर्जा उत्पादनका लागि तयार पारेको ऊर्जा विकास मार्गचित्रलाई गति दिने प्रयास थालेको छ। त्यसका लागि सरकारले निजी क्षेत्र र अन्य दातृ निकायसँग पनि छलफललाई तीव्र पारेको देखिन्छ।
देशको करिब ९९ प्रतिशत घरधुरीमा बिजुली पुगेको लगायतका देशका धेरै दुर्गम क्षेत्रमा समेत केन्द्रीय प्रणालीको बिजुली लाइन पुगेको छ। लामो समयदेखि विवादको घेरामा परेको ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुलसम्बन्धी विवाद समाधानका लागि मन्त्रालयले गम्भिरताका साथ लागेको जनाएको छ।