बागलुङ। जैमिनी नगरपालिका–८ को छिस्ती स्वास्थ्यचौकी भवन निर्माण गरेको दुई वर्ष नपुग्दै भत्किन थालेको छ। निर्माण पूरा भएर उद्घाटन भएको आउँदो फागुन ७ गते दुई वर्ष पुग्ने भवन अहिले छत चुहिने र भुइँ भत्किन थालेको हो।
वर्षौँ पुरानो जस्तो देखिने स्वास्थ्यचौकीको छत ठाउँठाउँमा चर्किएको, वर्षात्मा अधिकांश कोठामा पानी चुहिने, शौचालय बुचिएर प्रयोगमा नै नरहेको र प्लाष्टर, रङरोगन फुङ्ग उडेको छ।
गुणस्तरहीन निर्माण सामग्री, अदक्ष कामदार, निर्माण व्यवसायीको चरम लापरबाही र अनुगमनकारी निकायको अनदेखाका कारण स्वास्थ्यचौकी भवनको यस्तो अवस्था हुन पुगेको स्थानीय बताउँछन्।
‘निर्माण सकेर हस्तान्तरण नहुँदै भवन चुहिन थालेको हो, हामीले त्यतिबेलै आवाज उठायौँ, तर कसैले सुनेन,’ स्वास्थ्यचौकी इञ्चार्ज प्रकाश महतराले भने, ‘भवनको गुणस्तर परीक्षण गर्ने हो भने सम्बन्धित सबै पक्ष कानुनी कारबाहीमा पर्ने अवस्था छ।’
उनले भवन निर्माणमा कुनै पनि मापदण्ड पूरा नगरिएको गुनासो गरे। सेवा प्रवाह नै रोकिने स्थिति आएपछि वडाको रु २५ हजार र आफ्नो व्यक्तिगत रु २८ हजार खर्चेर भवनको अस्थायी मर्मत गरिएको इञ्चार्ज महतराले सुनाए। सङ्घ सरकारको रु एक करोड ५६ लाखको लागतमा तत्कालीन सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत स्वास्थ्यचौकी भवन बनेको हो।
भवन बनाउने जिम्मा पाएको ओखलढुङ्गा–बिएमए–जयकालिका संयुक्त निर्माण कम्पनीले विसं २०७६ मङ्सिर २२ मा भवन हस्तान्तरण गरेको थियो।