कालिकोट। कालिकोट जिल्लाका नौ स्थानीय तहका ८२ वटा वडामध्ये अधिकांश वडा सडक सञ्जालसँग जोडिएको छ। स्थानीय सरकार बनेपछि जिल्लाका अधिकांश स्थान सडकसँग जोडिन पुगेको हो।
रास्कोट, खाडाचक्र र तिलागुफा नगरपालिका तथा महावै, शुभकालिका, सान्त्री त्रिवेणी, पचालझरना र नरहरिनाथ गाउँपालिका सडक सञ्जालसित जोडिएका छन्।
रास्कोट नगरपालिकाका नौवटै वडामा सडक पुगेको उपप्रमुख मिमसरा बम शाहीले बताइन्। मूल सडक कालोपत्रे भइरहेको र अन्य वडामा कालोपत्रको तयारी रहेको उनले जानकारी दिइन्।
खाडाचक्र नगरपालिकाका ११ वटै वडामा सडक पुगेको उपप्रमुख विजया विष्टले जानकारी दिइन्। स्थानीय सरकार बनेपछि सबै वडामा सडक पुर्याउको उनको भनाइ छ। यस्तै तिलागुफा नगरपालिकाका ११ वटै वडामा पनि सडक पुगेको छ। सान्त्री त्रिवेणी गाउँपालिका, पलाँता गाउँपालिकाका र पचालझरना गाउँपालिकाका सबै वडा सडक सञ्जालले जोडिएका छन्।
नरहरिनाथ गाउँपालिकाका नौमध्ये पाँच वडामा सडक पुगेको छ। चार वडामा यसै आर्थिक वर्षभित्र सडक विस्तार गरिने अध्यक्ष धीरबहादुर विष्टले बताए। वडा नं ८, ९, १, २ र ३ मा सडक बनेको छ। वडा नं ४, ५, ६ र ७ मा सडक खन्ने तयारी छ। शुभकालिका गाउँपालिका र महावै गाउँपालिकामा केही बाहेक अन्य वडा सडक सञ्जालले जोडिएका छन्।