काठमाडौं। कुनैबेला बन्दिपुर मगरवस्ती भएको सानो गाँउ थियो । मगर भाषामा दी को अर्थ पानी हुन्छ । यहाँ वरपरका प्राय नदीहरुको नामको पछाडी दी आउने गर्दछ । यस ठाँउमा पानीको समस्या थियो । वनबाट आउने पानीमा निर्भर हुनुपर्नु हुँदा बनदी भनियो । पछि बन्दीपुर बिस्तारै बस्ती बढ्दै गएपछि बन्दीपुर नाम रहन गयो । हुन त बन्दीपुरको बिस्तृत अध्ययन गर्ने अमेरिकी बिद्यार्थी लिण्डा एल इल्टिसका अनुसार भने केही भिन्न छ । उनको भनाइमा राख्नु अगाडी उनको रिसर्चका केही कुरा राख्नु आबश्यक लागेको छ ।
राजा मुकुन्द सेन मगरहरु तथा कामीहरुको वस्ती रहेको यो ठाँउ देखी केही माथी रहेको मुच्चुक डाँडामा रहेको गढीमा केही दिन राजकाजदेखी अलग्गिएर शान्तीसंग बस्न आएका थिए। एक दिन नजिकैको ब्राम्हण बस्ती झाप्री फाँटको एक बृदधाले एक्लो बसेको देखेर खाना खान बोलाएछन्। बृद्धाले चौरासी ब्यञ्जन सजाएर खाना पस्काएछन् । मुकुन्दसेनले सबै एकै ठाँउमा मुछेर खान लागेको देखिर भनेछन्, तिमी त राजा मुकुन्दसेन जस्तै रहेछौ । सबैलाई एकै ठाँउमा मिसाउन खोज्ने । राजाले पनि बिभिन्न जातजाती संस्कार धर्म भएका जनतालाई एकै ठाँउमा मिसाएर राज्य चलाउन खोजे । तिमी पनि सबै खानेकुरालाई एकै ठाँउमा मिसाएर खाना खान खोज्दैछौ । प्रत्येक ब्यञ्जनको आफ्नै बिशेषता हुन्छ आफ्नै स्वाद हुन्छ । त्यसलाई अलग अलग खानुपर्छ ।
त्यसपछि राजा केही नबोली उठेर हिडे । बृद्धाको कुरा सुनेर राजकाज त्यागेर योगी बनेर देवघाट गएर त्यहि मन्दिर बनाएर बसे । देवघाटमा बसेको केही समय पछि त्यहि उनको देहावसान भयो । अहिले पनि मुच्चुक डाँडामा मुकुन्दसेन बसेको गढीमा मन्दिर बनाइयो जुन मन्दिरलाई मुकुन्देश्वरीको मन्दिर भनिन्छ । मुकुन्देश्वरी मन्दिरमा खासगरी मगरहरुले पूज्ने गर्दछ । बृद्धाको घरबाट खाना खाइ राजा केही नबोली हिडेर गए तर राजाले आफ्नो खड्ग बिर्सेर गएका थिए ।
बृद्धाले कुनै समय त्यो मानिस आफ्नो खड्ग लिन आउने छ भनेर कोठामा बन्द गरेर राखे । बृद्धालाई ति मानिस नै राजा मुकुन्दसेन हुन् भन्ने थाहा थिएन । यसरी खड्ग कोठामा बन्द गरेर राखेको केही समय पछि झाप्री फाँटमा बिभिन्न अपशगुनहरु हुन थाल्यो । मिलेर बसेका दाजुभाइ बिच कलह, गाइवस्तुहरु मर्न थाले । खेतीपाती पनि हुुन छाडयो । यसपछि गाँउलेहरुले झाक्री बोलाएर देखाउँदा यहाँ कोही बाहिरको बस्तु आएर बसेको छ । भने पछि बृद्धाले झट्ट सम्झिए खड्ग कोठामा राखेको । उनि तुरुन्तै कोठामा गएर हेर्दा खड्ग टुप्पोले टेकेर खडा भएको तथा दाँया बाँया हल्लिरहेको । झाक्रीले हेर्नासाथ भने यो खड्ग नै देवता हो । यसलाई मन्दिर बनाएर स्थापना गर्नुपर्छ ।
आज बन्दीपुरमा रहेको देवी तिनै खड्गदेवी हुन् । खड्गदेवी मन्दिरमा दुइजना पूजारी हुने गर्छ । एक मगर पूजारी जसले वर्षको एक पटक दशैमा खड्गलाई छुन सक्छन् । तर ब्राम्हण पूजारीले खड्गलाई छुन पाइदैन । दशैमा पूजा पछि खड्ग लिएर मगर पूजारी मन्दिर बाहिर निस्केर सबैलाई देखाए पछि खड्ग कामीलाई दिइन्छ । कामीले खड्ग लिएर बजार परिक्रमा गर्ने गर्दछ ।
यहि खड्गको रक्षकको रुपमा रहेको बन्दी कामीकै नामबाट नै यो स्थानको नाम बन्दी रहन गएको भन्ने कथन पनि यहाँ छ । आखिर जुन रुपबाट भएपनि बिस्तारै यो ठाँउमा बस्ती बस्न थाल्यो । उपत्यकामा गोरखा राजा पृथ्वीनारायण शाहको एकिकरण अभियानको क्रममा आक्रमण गर्दा उपत्यका छोडेर जाने नेवारहरुको संख्या बढ्दै गयो । यसरी जाने क्रममा पश्चिम तर्फ लागेका नेवारहरुमा एउटा समुह तर्कुघाटबाट मर्स्याङ्दीको किनारै किनार दक्षिण लागे । सयौ वर्ष देखी भोटसंग भारत तर्फ ब्यापार गर्ने यो बाटो निकै प्रख्यात थियो । तिनै नेवारहरुको पहिलो समुह बिसं १८३२ देखी १८५७ को बिचमा बन्दीपुर पुगेको इतिहास देखिन्छ । नेवारहरुको प्रबेश पछि यहाँ भक्तपुर शैलीका घरहरु बने । भक्तपुर शैलीमा नै मन्दिर बनाए । ब्यापारिक सोचमा आएका नेवारहरुले यो ठाँउलाई गुलजार बनाए ।
करिव २०० वर्षको मेहनतले एउटा सानो गाँउ शहरको रुपमा परिवर्तन आयो । तर यहाँ पनि शकुनीको आँखा लागे झै भयो । राजा महेन्द्रले देशमा पंचायती ब्यबस्थाको शुरुवात गरेसंगै देशलाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गरे । तनहुको सदरमुकाम बन्दीपुरबाट हटाउने योजना आयो । सदरमुकाम कुनै नयाँ स्थानमा राख्ने तैयारी भयो । निकै विबाद भयो निकै सरसल्लाहहरु भए । एक रात अञ्चलाधिस नन्दबहादुर मल्ल बन्दीपुर पुगेर सदरमुकाम सार्ने निर्णय बन्दीपुरमा टाँस्न लगाए । सोही दिनदेखी आन्दोलन भयो । नन्दबहादुर मल्लले सदरमुकाम सार्नको लागी सामग्री ओसार्न तनहुका जनतालाई सहभागी हुन अनुरोध गरेका थिए । बिरोधमा जुलुस निस्कियो । हुलदंगा भयो । सयौ मानिस घाइते भए । एकलाई गोली लागेर मृत्यु पनि भयो । बन्दीपुरवासी तैयार भएन सदरमुकाम सार्न । यसरी हुलदंगा र मानिसको मृत्यु समेत भएको घटना सुनेका राजा महेन्द्र हेलिकोप्टरमा बन्दीपुर आएन त्यहाँका जनतालाई सम्झाए ।
बन्दीपुको कुनै ब्यबस्था गरिदिने बिकासलाई रोक्न नदिने आश्वासन पाए पछि बन्दीपुरवासी सदरमुकाम हटाउन तैयार भए ।
स्कुल, अस्पताल, हुलाक, दुरसञ्चार तथा प्रहरी त्यहाबाट नहट्ने आश्वासन दिइएको थियो । राजाले यसरी आश्वासन दिएको केही वर्षमा नै राजा महेन्द्रको मृत्यु भयो । बन्दीपुरवासी निकै दुखी भए । यसपछि बाध्य भएर बिस्तारै बन्दीपुरवासी आफ्नो थातथलो छोड्न बाध्य भए । कोही नयाँ सदरमुकाम दमौली झरे । कोही बिमलटार झरे । कोही चितवन पुगे ।
२०२५ साल अर्थात यो तस्विर खिच्दा सम्म पनि बन्दिपुर तनहुँको सदरमुकाम थियो । अहिले केही वर्ष देखी बन्दीपुर पर्यटनको गन्तब्यको रुपमा चिरपरिचित हुदै गएको छ । पुरानो साख नफर्के पनि केही जमर्को भने अबश्य भएको मान्नुपर्छ । बन्दीपुरवासी निराश छैनन् । केही गर्ने आँट र साहस बटुलेका छन्। सुनिल उलकको फेसबुक पेजबाट