काठमाडौं। काठमाडौँ–तराई मधेश द्रुतमार्गको भौतिक प्रगति हालसम्म ३६ प्रतिशत पूरा भएको छ। काम सुरु भएको सात वर्षमा काठमाडौँ–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाको भौतिक प्रगति ३६ प्रतिशत र वित्तिय प्रगति ३८ प्रतिशत पूरा भएको हो।
आयोजनाको १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९ क, ९ ख र १० निर्माणाधीन छन् भने प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–बुङमती खण्डमा जग्गा अधिग्रहण लगायतका समस्याका कारण खरिद प्रक्रिया नै सुरु भएको छैन।
आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानमा रहेका पुलहरूमध्ये ८५ स्थानका पुल निर्माणका लागि खरिद सम्झौता सम्पन्न भएको छ । हालसम्म मकवानपुरको राजदमार इलाकामा पुलको निर्माण कार्य सम्पन्न भएको छ । अन्य स्थानमा ८१ मिटरसम्म उचाइ रहेका विभिन्न प्रकृतिका पुलको संरचना निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ ।
कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको आयोजनाको काम चार वर्षभित्र सक्ने गरी २०७४ मा निर्माण कार्यको जिम्मा नेपाली सेनालाई दिइएको थियो। तोकिएको समयभित्र निर्माण कार्य पूरा नहुने भएपछि २०८३ सालसम्मको म्याद थप गरिएको छ।
एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनेर सुरु गरिएको आयोजनाको लागत बढेर अहिले दुई खर्ब ११ अर्ब पुगेको बताइएको छ।