काठमाडौं। परापुर्व कालमा दोवाटो तथा चौबाटोहरूमा बटुवालाई बिश्राम गर्न तथा बास बस्न सहज होस् भनेर पौवा तथा पाटी बनाउने चलन रहेको थियो। समय कालसंगै त्यस्ता पौवा या त सरकारी संयन्त्रले बिभिन्न कारण देखाएर भत्काइए या ब्यक्तिले आफ्नो ब्यक्तिगत सम्पती बनाए।
पोखरामा पनि बिभिन्न स्थानमा रहेका पाटी पौवाहरूमा अहिले ब्यक्तिगत आलिसान महलहरू ठडिएको म आफैले देखेको छु भने हामा अग्रजहरूले अझ बढी थाहा पाउनु भएको होला। बिन्ध्यवासिनी क्षेत्रमा रहेका पौवा, नदिपुरको पौवा, न्यूरोड बी.पी. चौकको पौवा, गणेश टोलमा रहेको पौवा, नालामुख चौकको पौवा, रानीपौवाको पौवा यि म आफैले देखेका पौवाहरू हुन। तर आज कुनै पनि भेटिदैन। कुनै सडक बिस्तारले खाए भने कुनै ब्यक्तिले खाए।
साथमा राखिएको तस्विरहरु सोहखुट्टे पाटी काठमाडौंको हो। यो केही वर्ष अगाडी सम्म दुरावस्थामा पनि अवशेष बाकी रहेको यो पाटी अहिले सडक बिस्तारको नाममा हाल निमिट्यान्न पारिएको छ। बि.सं. १८४५ को कार्तिकमा काजी बलभद्र शाह मातहतका कपर्दार भोटु पाँडे भोट सैनिकको कैदबाट मुक्त भएर आएपछि २० रोपनी जग्गा सहित पाटी बनाइदिएका थिए। चारैतिर चार चारवटा ठूला ठूला काठका खम्बा खडा गरी सोह्रवटा खुट्टाको टेकामा ठड्याइएको पाटी भएकोले सोह्रखुट्टे पाटी भन्ने गरिन्थ्यो। यस्तै पाटी भोटु पाँडेले पनौतीमा पनि बनाइदिएका थिए। तर हाल दुवै पाटीको अस्तित्व छैन।
बि.सं. २०७१ सालमा सडक बिस्तारको नाममा रातारात सडक बिभागले यसलाई भत्कायो। जनताको बिरोध तथा पुरातत्व विभागको विरोध पछि सडक बिभागले पुरानै स्थानमा बनाउने भनेर बजेट छ्ट्ट्याएको भनिए तापनि बेवास्ता गरिएको छ। पाटी नजिकै रहेको गाँ हिटी पनि बिलुप्त बनाइएको छ। पुरानो पाटी रहेको स्थानमा नै बनाउन सकिने भनिएको पनि धेरै भयो तर हालसम्म पनि बनाइएको छैन।
विकसित मुलुकमा पुरानो राजधानीलाइ सांस्कृतिक राजधानीको रूपमा संरक्षित गराइ नयाँ राजधानीको रूपमा नया स्थानको राजधानीको विकास गर्ने गरिन्छ। तर हाम्रो मुलुकमा पुरानो राजधानीलाई विकासको नाममा विनास गरेर राजधानीलाइ अत्याधुनिक बनाइन्छ। भारतमा कलकत्ताबाट राजधानी दिल्ली सारिए पनि पुरानो दिल्ली भन्दा नया दिल्लीको रूपमा छुट्टै राजधानी बनाइयो। जापानमा क्योटोलाइ संरक्षित गराएर टोक्योलाइ राजधानी बनाइयो। अन्य उदाहरणको रूपमा अर्नेन्टिना, ब्राजिल, रूस, तान्जानिया, कजाकिस्तान तथा नाइजेरिया इत्यादि देशले राजधानी परिवर्तन गराएका थिए। तर दुर्भाग्य नेपालमा यसको बिपरित भएको छ। सडक बिस्तारको नाममा कतिपय पुरातनवासीहरू बिस्थापित हुन बाध्य बनाइएको छ। सुनिल उलकको फेसबुकबाट साभार गरिएको।