काठमाडौं। मल्लकालमा काठमाडौ शहरको दरवार रहेको हनुमानढोका क्षेत्रको उत्तर तर्फ रहेको शिवपार्वतीको मन्दिर राजा पृथ्वीनारायण शाहको कान्छो छोरा युवराज बहादुर शाहले बि.सं. १८५० को आसपासमा बनाएका थिए। शाहकालमा बनाइएको यो मन्दिर पूर्णतया नेपाली शैलीमा नै बनाइएको छ। दक्षिण तर्फ फर्किको यो मन्दिर एकतले रहेको छ भने मन्दिरको टुप्पामा तीनवटा गजूर पनि राखिएको छ।
दुइ तहको फराकिलो पेटीमाथि बनाइएको यो मन्दिर जमिनको सतह देखि निकै अग्लो गरि बनाइएको छ । मन्दिरको पूर्व, दक्षिण र पश्चिम तर्फ पेटी बनाइएको छ भने पूर्वको पेटीमा राजा लक्ष्मीनरसिंह मल्लको बि.सं. १६९८ को शिलालेख राखिएको देख्न सकिन्छ। यो शिलालेख नेपाली भाषामा लेखिएको पहिलो शिलालेख भएको गौतमबज्र बज्राचार्यको दावी छ। यहाँ मन्दिर निर्माण हुनु अगाडिको शिलालेख राखिनुले यस अगाडि बनाइएको कुनै डबली भत्किइ सकेको अवस्थामा सोही स्थानमा नयाँ मन्दिर बनाइएको अनुमान गर्न सकिन्छ ।
मन्दिरमा पाँचवटा ढोका रहे पनि बिचका ढोका मात्र प्रयोगमा राखिएर दायाँ र बायाँका चारढोकामा भने टिकीझ्याका रुपमा बन्द गरिएको पाउँछौ।
यसरी दक्षिण फर्किका पाँचै ढोका माथि तोरण राखिएको छ। ति पाँचै ढोकाका तोरणका बिचमा आकर्षक मुर्ति बनाइएको थियो। यो मन्दिर बनाइएको करिव १०० वर्ष पछि बि.सं. १९४२ को अन्ततिर काठमाडौ आइपुगेका फ्रान्सेली यात्री डा. गुस्ताव ले बोनले खिचेको तस्विरमा पाँचवटै तोरणमा मुर्ति रहेको देख्न सकिन्छ। मन्दिरको मूलढोकाको ठिक अगाडि द्वारपालका रुपमा दुइवटा ठूला ठूला सिंह राखिएको छ।
मन्दिरको भित्र नौ योगिनीको मुर्ति राखिएको छ। मंगला, पिंगला, धान्या, भ्रामरी, भद्रिका, उल्का, सिद्धा, संकटा तथा विकटा गरि नौ योगिनीको मुर्ति राखिएको छ । हाम्रा कुण्डलीमा आठ योगिनी रहेको हुन्छ । मंगला देखि संकटा सम्म एक देखि आठ वर्ष हाम्रा जीवनकालमा रहने गर्दछ। ३६ वर्षको एक चक्र समाप्त भएपछि पून अर्का चक्र शुरु हुन्छ। अन्तमा रहेको संकटा आठ वर्ष रहे पनि चार वर्ष संकटा र चार वर्ष बिकटा रहने गर्दछ। नवयोगिनीलाई नव ग्रहका पत्नीका रुपमा पनि लिने गरिन्छ।
जसमा चन्द्रमा—मंगला, सूर्य—पिंगला, बृहस्पति—धान्या, मंगल—भ्रामरी, बुध—भद्रिका, शनि—उल्का, शुक्र—सिद्धा, राहु—संकटा तथा केतु—विकटाका रुपमा रहेको ज्योतिषिय कथन रहेको छ ।
यसर्थ हाम्रो जन्म कुण्डलीमा पनि नौ योगिनी नै रहेको हुन्छ। नौ योगिनीको पूजा गर्दा जीवनमा आइपरेको संकटलाई कम गर्न सकिन्छ। बहादुर शाहको समयमा पनि देश युद्धमा रहेको अवस्था थियो। साथै बहादुर शाहको जीवनमा पनि बिभिन्न संकटहरु आइपरेको थियो। यसर्थ पनि यो मन्दिरको निर्माण गर्नु र युद्धमा निस्कनु अगाडि पूजा गर्नका लागि बनाइएको थियो भन्न सकिन्छ। यस मन्दिरमा माथिल्लो झ्याल देखि तल र तोरणको माथि लहरै हातहतियारले सुसज्जित सैनिकहरुका सानासाना मुर्तिहरु राखिनुले पनि यस कुराको पुष्टी गर्न सकिन्छ।
यो मन्दिरको नाम वास्तवमा नव योगिनीको मन्दिर नै हो। तर बाहिरबाट हेर्दा देखिने शिवपार्वतीका कारण यस मन्दिरलाई शिवपार्वतीको मन्दिर भन्ने गरिन्छ। झ्यालमा संगै बसेर बाहिरको दृश्य अवलोकन गरिहे झै लाग्ने शिवपार्वतीको मुर्ति श्रीखण्डको काठमा बनाइएको हो। बाहिरबाट हेर्दा सिङ्घो आकृती जस्तो लाग्ने यो मुर्तिको पछाडि भने सम्म छ।
यस मन्दिरका दोश्रो तल्लाको बाहिर केवल टुँडालमा मात्र छाना अड्याउन सक्ने भए पनि चारैतिर तेर्सो रुपमा आँखिझ्याल र अन्य झ्यालहरु बनाएर आकर्षक पारिएको छ। शिवपार्वतीका मुर्तिको दायाँबायाँको दुइ आँखी झ्याल आकर्षक गोलाकार रुपमा बनाइएको छ। अन्य आँखी झ्यालहरु साधारण देखिए पनि ढुङ्घामा आँखीझ्याल कुँडेर बनाइएका हुन्।
यहाँ रहेको शिवपार्वतको मुर्तिका पछाडि पनि एक किंवदन्ती रहेको छ। यो मन्दिर बहादुर शाहले बनाएका हुन वा मर्मत गरेका हुन् भन्ने यकिन गर्न सकिदैन। तर किंवदन्तीका अनुसार यो शिव पार्वतीको मुर्ति भने मल्लकाल देखिका हुन भन्ने बुझिन्छ।
किंवदन्तीका अनुसार कुनै समय यो डबली अगाडि पञ्चकन्याको नृत्य हुने गर्दथ्यो। यो नृत्य र यस नृत्यमा नाच्ने सुन्दरीहरुको चर्चा शिवपार्वती बिच पनि पुगेछ । पार्वती भन्दा पनि राम्री पञ्चकन्याहरु नाच्ने थाहा पाएपछि शिवपार्वती नृत्य हेर्नका लागि आएछन् र यसै झ्यालमा बसेर नृत्य हेर्न थालेछन्। कसैले थाहा नपाउने गरि नाच हेरिरहेका शिवपार्वतीलाई एक तान्त्रिकले भने देखेछन्। यसपछि तान्त्रिकले आफ्नो तान्त्रिक शक्तिले बाँसको टोकरी (पिचा)मा छुनासाथ हलचल गर्न नसक्ने शक्ति राखे। त्यसपछि सो पिचामा समयवजी राखेर शिवपार्वतीलाई खान दिए।
तर पार्वती र शिव दुबैले खान अस्विकार गर्दै पिचा छुदै छोएनन्। त्यति भन्नासाथ शिवपार्वती दुबै अलप भएछन्। आफूले गर्न खोजेको प्रयास बिफल भएपछि सो पिचा पञ्चकन्यालाई दिनका लागि जाँदा पञ्चकन्या पनि अलप भइसकेको रहेछ।
यसरी तान्त्रिकको गलत मनसाय शिवपार्वतीले मात्र होइन पञ्चकन्याले पनि थाहा पाएपछि पञ्चकन्या त्यसपछि कहिल्यै नाच्न आएनन् र शिवपार्वती पनि नाच हेर्न आएनन्। यहि कथा सुनेका महेन्द्र मल्लले त्यहाँ रहेको डबलीमा शिवपार्वतीको मुर्ति बनाउन लगाएको भन्ने गरिन्छ। तर यहाँ रहेको शिलापत्रका अनुसार यो मन्दिर महेन्द्र मल्ल भन्दा पछिका राजा लक्ष्मी नरसिंह मल्लले बनाउन लगाएको डबली रहेको अनुमान गरिन्छ। तसर्थ यो शिवपार्वतीको मुर्ति प्रताप मल्लले राख्न लगाएको अनुमान भने गर्न सकिन्छ।
२०७२ सालको भूकम्पले यो मन्दिरमा पनि क्षति पुगेको थियो। साथै अर्को समस्या भने शिवपार्वतीको मुर्तिमा लगाइने रङ्घको पनि हो। सम्भवत जुङ्घा भएको महादेवको मुर्ति नेपालमा दुइवटा मात्र छ। एक नेपालगञ्जमा रहेको जुङ्घे महादेव र हनुमानढोकामा रहेको शिवपार्वतीको मन्दिरमा रहेको शिवको मुर्ति। सुनिल उलकको फेसबुक पेजबाट