काठमाडौं। बि.सं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आए पछि पहिलो बिदेशी कुटनीतिक ब्यक्तिको भ्रमणको रुपमा बि.सं. २००८ को असार २ गते भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु नेपाल भ्रमणमा आएका थिए। यहि भ्रमणको समय राजा त्रिभुवनले देशमा सडक यातायातको असुविधा रहेको जानकारी गराए पछि पण्डित नेहरुले छिट्टै नै राजमार्ग निर्माणमा सहयोग गर्ने आश्वासन दिएर फर्केका थिए ।
नेहरु स्वदेश फर्केको केवल ९ महिना पछि चैत्र २००८ मा नै भारतीय सेनाका इञ्जिनियरहरुको टोली सर्वेको लागी आइपुगेका थिए । भारतीय सेनाका रिटार्यड कर्णेल ग्रान्टको निगरानीमा आएका सैनिक इञ्जिनियरहरुले निकै कठिन रहे तापनि राजमार्ग निर्माण गर्न सकिने जानकारी गराएका थिए । सबैभन्दा कठिन कार्य ठूला ठूला रोडरोलरलाई थानकोट पुर्याउनुको समस्या थियो ।
रोडरोलरलाई खोलेर बिभिन्न सामानहरु कुनै भरियाहरुबाट कुनै रोपवेबाट थानकोट पुर्याइए पछि फेरी जोड्ने कार्य गरियो । अन्तत बि।सं। २००९ मंसिर ७ गते शनिवार विवाह पञ्चमीको साइत पारेर चन्द्रागिरी तर्फबाट डोजरले खनेर राजमार्ग निर्माणको शुभारम्भ गरिएको थियो ।
चन्द्रागिरीदेखी भैसै दोभान सम्मको केवल ७९ माइल ९(१२७ किमी)को राजमार्ग निर्माणको लागी तीन भागमा बिभाजन गरिएको थियो । पहिलो भाग भैसे दोभान देखि सिमभन्ज्याङसम्मको २९ माइल(४७ किमी), दोश्रो भागमा थानकोट देखि पालुङ खोलाको ३८ माइल(६१ किमी) र तेश्रो पालुङ खोला देखि सिमभन्ज्याङको १२ माइल (१९ किमी)मा बिभाजन गरिएको थियो । सिमभन्ज्याङ ८१५० फीट सबैभन्दा उचाइमा रहेकोले पनि निर्माणमा कठिनाइ थियो ।
सडकको मापदण्ड अनुसार यस सडकलाई सेनाका इञ्जिनियरहरुले क्लास ९ अन्तर्गत राखेका थिए । ३ टन भन्दा बढि ढुवानी गर्न नसकिने, साथै सडकको चौडाइ समथर स्थानमा २१ फिट र उकालोमा १८ फिट रहने योजना गरिएको थियो । पुरै राजमार्गमा ८०० वटा ठूला कलभर्ट, ५० वटा साधारण कलभर्ट, ७ वटा पुल तथा १६ स्थानमा सडकमा पानी बग्न मिल्ने गरि ढलान गरेर पक्की सडक बनाउनु पर्ने थियो ।
भारतीय सेनाका इञ्जिनियरहरुको साथ ३४५० नेपाली मजदुरहरु थिए । १५५० मजदुर भैसेदोभान तर्फ थिए, ८०० मजदुर पालुङखोला तिर थिए भने ११०० मजदुर थानकोट तर्फ थिए । यसको साथै ७१ वटा ठूला मशिनरी इक्विपमेन्टहरु ९बुलडोजर, रोडरोलर, कम्प्रेसर, क्रसर० निर्माणमा लगाइएको थियो । उद्घाटनको समयसम्ममा यि मशिनहरुले झण्डै १७५००० लिटर पेट्रोल तथा १४४००० लिटर डिजल सिध्याएको थियो । साथै ५०० नेपाली सैनिक जवानहरु पनि निर्माणको क्रममा खटाइएको थियो । चट्टान फुटाउनको लागी २ लाख पाउण्ड बिष्फोटक भारतबाट ल्याइएको थियो भने नेपालमै १९६००० पाउण्ड ब्लाकपाउडर उपयोग गरिएको थियो । निर्माणको क्रममा ८ मजदुरहरुले जीवन गुमाउनु परेको थियो ।
एक वर्ष पछि मंसिर २६, २०१० मा विवाह पञ्चमीकै दिन पारेर जीप मात्र चलाउन सकिने गरि बडामहारानी कान्ती राज्यलक्ष्मीले राजमार्गको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा युवराज महेन्द्र, प्रधानमन्त्री मातृका प्रसाद कोइराला तथा भारतीय राजदुत बिके गोखलेले सम्वोधन गरेका थिए ।
यसरी जीपको लागी २०१० को मंसिरमा नै उद्घाटन भए पनि ट्रकहरु गुड्न भने अर्को दुइ वर्ष पर्खनु पर्यो । नियमित ट्रकबाट ढुवानीको सेवा भने नेपाल ट्रान्सपोर्ट सर्विसको स्थापना पछि २०१५ को चैत देखि बल्ल भयो । असार २०१६ सालबाट नेपाल ट्रान्सपोर्ट सर्विस नियमित बस सेवा काठमाडौबाट अमलेखगञ्जसम्म शुरु भएको थियो ।
पहिले नेपाल गवर्मेन्ट रेलवेले नियमित सेवा दिएको हुँदा काठमाडौलाई अमलेखगञ्जसम्म मात्र जोडिएको थियो । पछि रेलसेवा बन्द हुन थाले पछि वीरगञ्जबाट अमलेखगञ्जको सडक यातायातले प्राथमिकता पाउन थाल्यो ।
निर्माणको काम समाप्त भएको थिएन । काम चलिरहेको थियो । यस्तैमा २०१३ को माघमा हिउँ परेर काममा अवरोध समेत आएको थियो । भारतीय सरकारका तर्फबाट भारतीय सेनाले पत्रकारहरुलाई पनि निर्माणको उपलब्धि देखाउन सिमभन्ज्याङमा ल्याएको थियो। सुनिल उलकको फेसबुक पेजबाट