काठमाडौं। अहिलेको चिप्लेढुङ्गा पोखराको प्रमुख ब्यापारिक केन्द्रका रुपमा रहेको छ । तर यस स्थानको इतिहास ५० वर्ष अगाडिसम्म केही पनि थिएन । बिचमा सानो डहर तल्लो दक्षिणको भाग बास्तोलाथरका बास्तोलाहरुको खरवारी उत्तर तर्फ बाबुसाहेवको बगैचा। त्यहाँ कुनै बेला मुख्य बजार बन्न सक्ने कुनै सपनामा पनि सोच्ने आधार वा सम्भावना केही पनि थिएन। २०११ सालतिर बास्तोलाथरको दक्षिण तिर रहेको स्याउले बजारमा जीतबहादुर भुजेल र उमानाथ बास्तोलाका खरवारीलाई तत्कालिन बडाहाकिम पुरनसिंह खवासले घडेरी बनाउन लगाए। यहाँ साना साना घडेरीहरु बनाएर प्रत्येक घडेरीको २०० रुपैयामा बिक्री गरिए । पछि बिस्तारै यहाँ घरहरु बन्न थाले नयाँ नयाँ बजार बन्न लागेको हुँदा यस ठाउँको नाम नै नयाँबजार रहन गयो ।
२०१८ सालतिर पोखरा आइपुगेका पहिलो अञ्चलाधिश भूदेव राईले सेती नदीमा रहेको सानो बाँसको कोठेसाँघु भएकै ठाउँमा पक्की पुल बनाएर महेन्द्रपुल नामाकरण गराए । यो पुलको पारी पट्टी श्यामसाहुको घर थियो भने वारी टीकाराम बास्तोलाको खरवारी, लेखतमान लाभाजूको वारीमा एउटा पौवा थियो । टीकाराम बास्तोलाको त्यो बेला चिनीको ठेक्का पुरा गर्न नसक्दा सरकारसंग मुद्दा खेप्दै थिए । यहि बेला भूदेव राईले टीकाराम सामु शर्त राखे, पुल देखि भर्खरै बनेको स्याउले बजारसम्मका लागि बाटो दिएमा मुद्दा मिलाइ दिने बचन दिए । तत्कालै यो शर्त मान्न तैयार भएका टीकारामको खरवारी बिचमै चिरियो । दायाँबायाँ घडेरी बच्यो भने बिचमा बाटो बन्यो ।
बास्तोलाथरको उत्तर तर्फ पानी बग्ने खोल्सो थियो । भर्खरै बन्दै गरेको बजारमा साल्मीहरुको च्यूरा कुट्ने ढिकी लहरै थियो । यहिँ बिस्तारै बजार बन्न पुग्यो । पुलको नाम महेन्द्रपुल र त्यहीँ पुल नजिकैको बजार महेन्द्रपुल बजार नामाकरण हुन गयो । पुलको पश्चिममा सानो पोखरी थियो । यो पोखरीलाई पञ्चायतको सरकारले हुलाक र आवा अफिसका लागि उपलब्ध गरायो । यहि पोखरीको पूर्व तर्फ दुइ भवन बने दक्षिण तर्फ आवा अफिस र उत्तर तर्फ हुलाक । हुन त हुलाक तथा आवा अफिस पहिले नै पोखरामा खुलिसकेको थियो । भिमसेन थापाको शासनकालमा नै खुलेको हुलाक नालाको मुखमा नै थियो । जहाँ पछि वीरशम्शेरको समयमा पोखराका बडाहाकिम भेषजङ्ग राणाले ढुङ्गेधारा बनाइदिएका थिए । आवा अफिस भने पुलको पारी शोभाभगवती मन्दिर नजिकै रणबहादुर शाहकी रानीले बनाइदिएको रानीपौवामा थियो ।
यसरी नयाँ बनेको महेन्द्रपुलको वरपर गुल्जार गर्ने प्रयास भए पनि हुलाकसंगै बगैचाको डहरमा भने खासै परिवर्तन हुन सकेन । चोकको छेउमै एउटा बडेमाको ढुङ्गो बाटो छेकेर बसेको थियो । अलि भित्र फेरी अर्को बडेमाको ढुङ्गो लडिरहेको थियो । भित्रि ढुङ्गामा केटाकेटीहरु चिप्लेटी खेल्दथे । त्यसैले त्यस ढुङ्गाको नाम नै चिप्लेढुङ्गा हुन पुग्यो । तर यो ढुङ्गो अझ भाग्यशाली थियो, जसले गर्दा त्यो ठाउँको नाम नै त्यहीँ ढुङ्गोले गर्दा चिप्लेढुङ्गा रहन गयो । अर्को ठूलो ढुङ्गा भने अभागी बन्यो । चोकमै बागलुङ्गे बैद्यले घर बनाए पछि त्यो ढुङ्गाले बाटोमा अप्ठ्यारो बनाएको भन्दै ज्यामीहरुलाई ठूलो खाल्डो खन्न लगाएर त्यस ढुङ्गोलाई जमिन भित्र सधैका लागि दफन गरियो । दुइ वर्ष अगाडि जापानी प्रोजेक्ट जाइकाले सडक खनेर पाइप लाइन ओछ्याउन खोज्दा यहिँ ढुङ्गा बाधक बन्यो । मसंग प्रोजेक्ट इञ्जिनियरले ढुङ्गा भेटियो, फोड्न सकिन्छ कि सकिन्न भनेर सोध्दा मैले भने यो धेरै ठूलो छ फोडेर समय र श्रम खेर फाल्नुभन्दा पाइपलाईनलाई केही मोड्न सल्लाह दिए । त्यहि अनुसार पाइपलाईनलाई मोडियो ।
महेन्द्रपुलको चोकदेखि पश्चिम तर्फको बाटो खासै चहल पहल हुन सकेको थिएन । २९।३० सालतिर पृथ्वी राजमार्ग तैयार भएर गाडि गुड्न थालेपछि हिडेर काठमाडौ र मधेश तिर जान बास बस्ने अर्घौ पौवा नजिकै मुङुले डाँडो वरपर भट्टी थापेर बसेका थकाल्नीहरु त्यहाँबाट बिस्थापित भए । यिनीहरु नयाँ ठाँउमा ब्यापार गर्न सोच्दै थिए । त्यहि भएर महेन्द्रपुलको पश्चिम तर्फको डहरमा लहरै भट्टी पसल थापेर बस्न थाले । पछि अन्य पनि यहिँ ठाउँमा आएर भट्टी थाप्न थाले ।
यो बगैचा भनेर नामाकरण भएको ठाँउ वास्तवमा राणा बाबुसाहेवको बारी थियो । बिभिन्न फलफूलका रुखहरु लहरै भएको हुँदा बगैचा भनिन्थ्यो । बि।सं। १९४२ सालमा जङ्गबहादुरका कान्छा भाइ धीरशम्शेरका छोराहरुले आफ्नो प्रधानमन्त्री तथा श्री ३ हुने पालो ढिलो आउने देखेर आफ्नै ठूलो बुबा श्री ३ रणोद्वीप सिंह कुँवरको हत्या गरे । साथै उनको मृत्यु पछि श्री ३ बन्ने पालो पर्खिरहेका जङ्गबहादुरका छोरा नाति तथा अन्य सन्तानको पनि हत्या गरे । कतिपय ज्यान जोगाउन उपत्यकाबाट भागे ।
जङ्गका तेह्र छोरामा कति मारिए कति भागे । यस्तैमा जङ्गका कान्छो छोरा हर्षजङ्ग ९हरकजङ्ग० भागेर दार्जिलिङ पुगे । दार्जिलिङबाट इलाहाबादमा गएर बसे । केवल २१ वर्षको उमेरमा भागेर त्यहाँ पुगेका उनले चम्बाका सरदार बालक सिंहको छोरीसंग बिबाह गरेर उतै घरजम गरेर बसे । दुइ छोरा दुर्गाप्रताप र कुमार जङ्ग राणा तथा एक छोरीका साथ खुशियाली संग उतै रहे । छोरा दुर्गाप्रताप जङ्ग राणा पटियालाको सेनामा क्याप्टेन तथा अफिसर सम्म बने ।
जङ्गका सन्तानलाई नेपालमा आउन छुट दिए पछि दुर्गाप्रताप नेपालमा आए । नेपालमा आएर पोखरामा बिर्ता पाइ यहि ठाउँमा बसे । अहिलेको चिप्लेढुङ्गा सडक देखी उत्तर गैह्रापाटन सडक देखी दक्षिण रामकृष्ण टोलको सडक देखी पूर्व र साँघुमुख देखी पश्चिमको जग्गा बिर्तामा लिए । पछि आएका जङ्गबहादुरका भाइ जगतशम्शेरका छोरा भुपेन्द्र जङ्ग भने गैह्रापाटनको उत्तर तर्फ बसे । उनले बि।सं। १९४० तिर ढोकै ढोका र धेरै झ्यालहरु राखे दरवार नै बनाएर नै बसे । जसको नाम नै ढोका दरवार रहन गयो । उनका छोरा भेषजङ्ग भने पछि बडाहाकिम बनाइए । भुपेन्द्रजङ्गका भाइ खड्कजङ्ग पनि यतै बसे । उनका छोरा चैतन्यजङ भने पोखरामा चैतन्य महाप्रभुका नामले सबैले चिनिन्छ । जङ्गबहादुरको शासनकालमा पोखराको बडाहाकिम भएर आएका कर्णेल टेकबहादुर कुँवर ९जङ्गबहादुरको भतिजा० का वंशज राणाहरु भने बिक्रम राणाका रुपमा मिरुवा वरपर नै बसे ।
यिनै राणा बाबुसाहेवहरुका पण्डित्याइ गर्ने केही पराजुलीहरुलाई पनि राणा बाबुसाहेवले आफूले पाएको बिर्तामा नै घडेरी दिएका थिए । तर यहिँ नजिकै बस्ने कोइरालाहरुलाई भने जङ्गबहादुरको समयमा बिर्ता दिइएको थियो । अहिलेको गैह्रापाटन भने राजा राजेन्द्रको समयमा घ्युकर गाउँ थियो । राजा राजेन्द्रको समयमा श्रीपति कोइरालाले सहि ज्योतिष भविष्यवाणी गरे बापत पाँच गाउँ बिर्ता दिँदा कास्कीको घ्युकर गाउँ, बास्तोलाथर, पर्स्याङ, अर्चलबोट र नदीपुर गाउँ कोइरालाहरुले बिर्ताका रुपमा पाएका थिए । पराजुलीहरुले भने कास्कीका राजाको समयमा नै पोखराको बिभिन्न स्थानमा बिर्ता पाएका थिए ।
दुर्गाप्रतापका दुइ छोराहरुको झै यहाँ नेपालको ताजमहल अर्थात रानीमहलको निर्माता खड्ग शम्शेरको नाति पनि संयोगले पोखरा निवासी हुन पुगेका छन् । खड्गशम्शेरको नाति पूर्व एसपी चिरञ्जिवी शम्शेर जबराले आफू इन्सपेक्टर भएर पोखरा आउँदा हाल महेन्द्रपुलको सेलवेज तथा अन्य पसलहरु रहेको जमिन किनेका थिए । त्यतिबेला २(३ सयमा किनेको जमिन अहिले अरबौ मुल्य पुगेको छ ।
उहिलेको बगैचा अहिलेको चिप्लेढुङ्गा पोखराको प्रमुख ब्यापारिक स्थल बनेको छ । यहाँ प्रमुख ब्यापारिक पसलहरु खुलेका छन् । बजारमा सबै ठाउँका मानिसहरु सामान किन्न आइपुग्दछन् । इतिहास बोकेको ढुङ्गालाई संरक्षण गरेर राखिएको छ । हुन त यो ढुङ्गासंग अर्को किंवदन्ती पनि जोडिएको छ ।
बुढापाकाहरुको मुखबाट मैले सुनेको थिएँ पोखरा बजारमा रहेका तीनवटा ढुङ्गा दिदीबहिनीहरु हुन् । चिप्लेढुङ्गा बजारमा रहेको चिप्लेढुङ्गा, साँघुमुख नजिकै रहेको हल्लने ढुङ्गा र तेर्सापट्टी कल्पना हल पछाडि रहेको कोपिल ढुङ्गा तीन दिदीबहिनी भन्ने कथा सुनाउँदथे । मध्यरातमा दिदीबहिनी एक अर्कालाई भेट्न निस्कन्थे रे । बत्ती नभएको यूगको कथा थियो कसैले बनाई दियो । सत्यता खोज्न को निस्कनु त्यो समयको मध्यरातमा । त्यसै केराको पात हल्लिदा वा बाँसको झ्याङमा सुसेलीएको आवाज आउँदा भूत, प्रेत, पिशाच आयो भनिन्थ्यो ।
नौलो ढुङ्गा देख्यो कि देवता बनाइदिने युग थियो त्यो बेला । तर पनि यो ढुङ्गो भने देवता बनाइएन । यो संगै किंवदन्तीमा जोडिएर दिदीबहिनी भनिएका हल्लने ढुङ्गा र कोपिल ढुङ्गामा भने पूजिन थालेको छ । अचेल भने चिप्लेढुङ्गामा केटाकेटी चिप्लिन छोडिसकेका छन् । बाटोले आधा गाडिसकेको छ, अब त सानो लाग्छ चिप्लेढुङ्गा पनि । शायद बाटो छेउ र केटाकेटी चढेर चिप्लेटी खेल्ने हुँदा देवता बन्नै पाएन होला । नत्र यहाँ पनि फूल अक्षता चढाउन आइहाल्थे ।
हेरौ ५० वर्ष अगाडिको चिप्लेढुङ्गा महेन्द्रपुल बिचको सडक जहाँ एक मात्र पक्की घर देखिन्छ । साथै केहि मानिस हिडेको देखिन्छ । त्यो समय बिजुली आइसकेको हुँदा बाटोमा बिजुलीका तारहरु पनि देख्न सकिन्छ । साथै घरमा बाँसको तगारो बनाइएको पनि देख्न सकिन्छ। सुनिल उलकको फेसबुक पेजबाट