ललितपुर। भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्रीहरूको निवासको काम ६६ प्रतिशत पूरा भएको छ। राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत पूरा भएको बताएका हुन्।
निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयको अवरोध तथा कोरोना महामारीका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको बताए। उनले अवरोध हटाउनका लागि सरकारी तहबाट काम भइरहेको भन्दै चाँडै स्थानीयको समस्या समाधान गरेर एउटा निर्णय गर्ने बताए । निर्देशक श्रेष्ठले मन्त्री निवासका भवन तयार भइसकेको तर भवनको भित्री सजावटको काम मात्रै बाँकी रहेको बताए।
उनले सजावटका लागि टेण्डर निकाल्न बाँकी रहेकाले एक महिनामा टेण्डर निकालेर ६ महिनाभित्र सजावटको बाँकी काम सक्ने योजना रहेको बताए। चालू आर्थिक वर्षको असार मसान्तसम्ममा संघिय मन्त्री र प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवास तयार गरी सक्ने बताए ।
अनुगमन पछि समितिमा बोल्दै राष्ट्रिय सभाका सांसद् वामदेव गौतमले संघीय मन्त्री, राष्ट्रिय सभाअध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा उप–सभामुख निवास उपयुक्त स्थानमा नभएको बताए।
गौतमले विश्वका कुनै पनि देशमा मन्त्रालय, संसद भवनभन्दा लामो दूरीमा मन्त्री निवास नहुने बताए। उनले अहिले बन्दै गरेको मन्त्री निवासबाट मन्त्रालयमा जानका लागि कम्तिमा पनि आधा घण्टा लाग्ने बताए। गौतमले मन्त्रालयबाट बस्ने निवास धेरै टाढा भएको बताए ।
सरकारले ललितपुरको भैंसेपाटीमा मन्त्री आवास निर्माणका लागि २०७६ कात्तिक २७ गते श्रीको हनुमान जेभीसँग सम्झौता गरेको थियो। उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि दुई वर्षको अवधि तोकेको थियो।