काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण औपचारिक रुपमा हस्तान्तरण गरिएको छ। नेपाल सरकारको निर्णयानुसार बाँकी कार्यभार तोकिएका निकायलाई सुम्पिँदै प्राधिकरण औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।
प्राधिकरणका कार्यभार, काम, संरचना र पुँजीगत विवरण शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।
प्राधिकरणले बहिर्गमन हुनुअघि धरहरा, सिंहदरबार, रानीपोखरी, शान्तिबाटिका, हरिहर भवन तथा नारायणी सङ्ग्रहालय अन्तर्गतको रणेद्धिप दरबारसम्बन्धी कार्य तथा केन्द्रीय आयोजना कार्यान्यवन भवन, नीति, आवास अनुदान व्यवस्थापनसँग सम्बन्धित कागजात र वेरुजु शहरी विकास तथा भवन निर्माण विभागमा हस्तान्तरण गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई उक्त फाइल हस्तान्तरण गरेका छन्।
प्राधिकरणले पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बाँकी रहेका काम, कानुनी तथा नीतिगत व्यवस्था, पुनरावेदन समितिबाट प्राप्त हुने फैसला र आदेशको कार्यान्वयन तथा समन्वय सहजीकरण तथा अनुगमनसम्बन्धी कार्य राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको छ। यस्तै विश्व बैंकसँग सम्बन्धित प्राविधिक सहयोग सोध भर्ना, परियोजना एकाउण्ट र प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायबाट सम्पादन भइरहेका पुनःनिर्माण तथा पुनस्थापनका कार्य, प्राधिकरणअन्तर्गत चालु र पुँजीगत खर्चका आव २०७८/७९ को एकीकृत आर्थिक विवरण तयार पार्ने, लेखा परीक्षण तथा बेरुजु फस्र्यौटसम्बन्धी कार्य पनि विपद् व्यवस्थापन प्राधिकरणलाई नै हस्तान्तरण गरिएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कर्याकारी अधिकृत सुशील ज्ञवालीले विपद् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई फाइल हस्तान्तरण गरी औपचारिक रुपमा प्राधिकरणका कार्यभार सुम्पिएका छन्।
विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पपछि त्यसको पुनःनिर्माण र पुनःस्थापनका लागि प्राधिकरण स्थापना भएको थियो। पाँच वर्षको कार्यावधी रहे पनि जिम्मेवारी पूरा नभएकाले नेपाल सरकारले एक वर्षको समयावधी थपेको थियो। उक्त थपिएको समय यही पुस १० गते सकिँदै छ।