काठमाडौं। म्याग्दी जिल्लाको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड अलपत्र परेको छ। काम छोडेर ठेकेदार भागेपछि सडकको काम अलपत्र परेको हो।
ठेकेदार कम्पनीको लापरवाहीका कारण पश्चिम म्याग्दीका स्थानीय बासिन्दाले वर्षैंदेखि कच्ची सडकको भरमा सकसपुर्ण यात्रा गर्नु परेको छ। मङ्गला गाउँपालिकाको लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङसम्मको ६.८ किमी सडक निर्माणको जिम्मा लिएको बिरुवा–क्याराभान जेभीका एक जना मजदुर पनि भेटिदैनन्।
कोभिड महामारीको निउ पारेर समस्या उत्पन्न भएको बाहाना बनाउदै काम रोकेर सम्पर्कविहीन भएको ठेकेदारका कारण घर आँगनमै फराकिलो र सफा सडक देख्ने चाहना पूरा नभएको स्थानीयको गुनासो छ। काम नगर्ने ठेकेदारलाई जिल्लामै गएर माग गरेपनि सुनुवाइ भएको छैन। सडक विस्तारको काम नहुँदा सामान्य पानी पर्दासमेत हिलाम्मे तथा घाम लाग्दा धुलाम्मे हुने गरेको स्थानीयले बताए।
ठेकेदारले मापदण्डविपरीत नदीजन्य वस्तु उत्खनन गर्दा गाउँ नै जोखिममा परेको बताउँदै सडकलाई आवश्यक पर्ने सामग्री निकाल्ने बहानामा नदीमा मनपरी भइरहेको स्थनीयले जानकारी दिए। मङ्गलाको लाम्पाटादेखि मालिकाको दरबाङसम्म आठ किलोमिटर खण्ड सडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो।
जिम्मेवार व्यक्तिको लापर्वाहीका कारण विकास निर्माणका काममा कसरी अवरोध हुने गरेको छ भन्ने उदाहरण म्याग्दीमा देखिएको छ।
पश्चिम क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिका तथा छिमेकी बाग्लुङको ताराखोला, बुर्तिवाङ र रुकुम जिल्लाका केही बस्तीलाई म्याग्दीको सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ।
तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेकोमध्ये मङ्गलाको सीमदेखि लाम्पाटासम्मको ३.६५ किलोमिटर सडक स्तरोन्नतिका लागि रु दुई करोड ९५ लाख बजेट आएको र निर्माणका लागि ठेक्का सम्झौतासमेत भइसकेको छ। मापदण्ड अनुसार सडक विस्तारका क्रममा आयोजना र निर्माण व्यवसायीबाट सयौँ स्थानीयवासी पीडित छन्।