भगीरथ भण्डारी
इलाम। इलाम नगरपालिकाले फोहोर फाल्ने गरिएको खोल्सामा बाँध बाँधेर संरचना बनाउन थालेको छ। शुरुवातदेखि फोहोर बग्ने खोल्साका रुपमा रहेको स्थलमा इलाम नगरपालिकाले विभिन्न संरचना निर्माण गरिरहेको हो।
जिल्लाको पुरानो नगरपालिकामा रहेको इलाम बजारको अस्पताल नजिकको खोल्सामा बजारको फोहोर फाल्ने गरिन्थ्यो। बजार बढेसँगै जग्गाको मूल्य बढ्ने र संरचना बनाउनका लागि जग्गा नपाउने भएपछि खोल्सामा बाँध बाँधेर संरचना निर्माण थालेको हो।
इलाम अस्पताल नजिकै रहेको खोल्सालाई बाँध बाँधेर इलाम नगरपालिकाले कभर्डं हल, तरकारी बजार खसिबोका बजार र आँखा अस्पताल निर्माण गरेको छ। जिल्लामा खेलकुदका लागि एउटा मैदान समेत नभएको अवस्थामा इलाम नगरपालिकाले खोल्सामा बाँध बाँधेर खेलकुदका सामाग्रीसहित विभिन्न संरचना बनाएर राम्रो काम गरेको स्थानीय धिरेन चेम्जुङ बताउँछन। उनी भन्छन, ‘नागरिकको आवाज सुन्ने क्रममा कसैले कल्पना नगरेको ठाउँमा संरचना बनाएर बजारको राम्रो व्यवस्थापन गरेको छ। ’
नगरपालिकाले खोल्सिलाई व्यवस्थापन गरेर तरकारी बजार, श्रष्ठा पार्क, पशु बजार, आँखा अस्पताल, मोटर साइकल पार्कीङ्ग सहितको रेष्टुरेन्ट, जनकदेव चोक लगायतका संरचनाको निर्माण भइरहेको छ। त्यो सँगै नगरपालिकाले स्रस्टा पार्कमा चित्रकला, मूर्तिकला, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र, नृत्य, संगीत, खेलकुद, साहित्य र पत्रकारिता क्षेत्रमा समेत योगदान गर्ने व्यक्तिहरुको नाम पार्कमा राखिसकेको छ ।
नगरपालिकाले यस वर्ष शुरु गरेको इलाम आँखा अस्पताल निर्माण सम्पन्न भइसकेको छ । त्यसलाई तत्काल सञ्चालनको लागि काम अघि बढाइरहेको इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले बताए । अस्तव्यस्त रहेको बजार व्यवस्थापन निकै चुनौति रहेपनि नयाँ योजनाका साथ खोल्सालाई बाँध बाँधेर विभिन्न संरचना निर्माण गरेको इलाम नगरपालिका वडा नं ७ का अध्यक्ष नरेश श्रेष्ठ बताउँछन् । नगरपालिकाले विकास निर्माण मात्र नभएर विभिन्न क्षेत्रको विकासका लागि काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेल बताउँछन। उनी भन्छन, ‘नगरको विकासका लागि पर्यटकीय क्षेत्र पाटेनागीमा गुरुयोजना बनाएरै काम गरिरहेका छौँ।’
बाँध बाँधेर संरचना निर्माण गर्ने क्रममा नगरपालिकाले ग्याविन पर्खाल, नाली निर्माण, सिढी र रेलिङ्ग, कम्पाउड वाले रिटेनिङ्ग वाल, लगाएर ठाउँ बनाएको छ । वाल लगाउँदै फिलिङ गरेको र ट्रस्टका हल्का संरचना रहेको कारण खोल्साको बाँध प्राविधिक रुपमा समस्या नआउने गरी निर्माण गरिएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुरागाईले बताए । आ.व २०७२/७३ बाट निर्माण शुरु गरिएको उक्त ठाउँमा करीब डेढ करोड भन्दा बढी रकम खर्च भइसकेको गुरागाईको भनाइ छ । इलाम नगरपालिकाले इलाम बजारमा व्यापारिक प्रयोजनका लागि सिटिमार्ट समेत निर्माण गरेर भाडामा लगाइसकेको छ । नगरपालिकाले कृषि क्याम्पस सञ्चालन र मेडिकल कजेल निर्माणको प्रक्रिया पनि अघि बढाइसकेको छ ।