काठमाडौं। उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन्। शुक्रबार निर्माण व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री सिंहले निर्माण व्यवसायीहरूका माग सम्बोधनको लागि मन्त्रीपरिषद्मा लैजान पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
उनले सरकार निर्माण व्यवसायीहरूका समस्या र मागका विषयमा जानकार रहेको भन्दै समाधानका लागि पहल गर्ने बताए।
सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले निर्माण व्यवसायीहरूलाई बीमाले बदमासी गरेको बताए । उनले बीमामा निर्माण व्यवसायीहरूले आयोजनावेसमा प्रिमियम हुने विषय उठान गर्नुपर्ने बताए । उनले निर्माण व्यवसायीहरूलाई बीमासँग रकम लिन समस्या भएको बताए ।
निर्माण व्यवसायी महासंघले आगामी १५ गतेसम्म सबै विकासे मन्त्रालय र सरकारी निकायहरुलाई व्यवसायीहरूका माग सम्बोधनको लागि ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार शुक्रबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्रप्रसाद लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपि अर्याल, मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव ई. केशवकुमार शर्मा लगायतसँग भेट गरी महासंघको १४ बुँदे माग कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको छ।
भुक्तानीको समस्या हटाउन पर्ने, मूल्यवृद्धि र कालोबजारी हटाउनुपर्ने, सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता हटाउनु पर्ने लगायतका १४ बुँदे माग राख्दै महासंघले उक्त माग पूरा नभए आगामी माघ १८ देखि आन्दोलन गर्ने घोषणा गरेको छ।