काठमाडौं। ललितपुरका विभिन्न आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडद्वारा भैँसेपाटीस्थित सङ्घीय सरकारका मन्त्री एवं प्रदेशका मुख्यमन्त्रीको आवासलगायत क्षेत्रमा खानेपानी आपूर्तिका लागि ललितपुरका विभिन्न आठ स्थानमा खानेपानी आयोजना निर्माण गर्न बोलपत्र आह्वान गरेको हो।
ललितपुर महानगरपालिका–१८, सैंबु भैँसेपाटीमा रहेको मन्त्री निवाससहित ललितपुर महानगरपालिका–१८, मगरगाउँ, ललितपुर महानगरपालिका–१४, बूढामार्ग, ललितपुर महानगरपालिका–१५, युलेन्स स्कुल, धापाखेल, ललितपुर महानगरपालिका–१७, बाफल, ललितपुर महानगरपालिका–२६, चोखेल, ललितपुर महानगरपालिका–१५, शान्तिनगर माइक्रोपार्क, ललितपुर महानगरपालिका–८, ९ बोजेपोखरी र बालकुमारी पुल गरी जम्मा आठ ठाउँको खानेपानी निर्माणका लागि बोलपत्र आह्वान गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।
यसअघि मन्त्री निवास भैँसेपाटीलगायत ठाउँमा खानेपानीको आपूर्ति भएको थिएन । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ललितपुर जिल्लाका आठ स्थानमा खानेपानी आयोजना निर्माणका लागि बोलपत्रसहितको प्रक्रिया सुरू गरेको हो।
योजनाअन्तर्गत ती स्थानमा खानेपानी निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गरी सर्वसाधारणलाई शुद्ध तथा दिगो खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको छ ।