काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएका बताएका छन् ।
बेनीमा मंगलबार आठौ म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको प्रतिक्रिया दिएका हुन् ।
गत पुष अन्तिम हप्ताको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार राष्ट्रपति समक्ष सिफारिस गरेको सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।
‘सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ,’ अध्यक्ष ढकालले भने ‘निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ ।’
नेपाल उद्योग वाणिज्य संघको अगुवाईमा प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार भन्दा बाहिर राख्न सफल भएको पनि अध्यक्ष ढकालले बताए ।
कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन कानुनका कारण संकुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझाव अनुसार सरकारले अध्यादेश ल्याएको अध्यक्ष ढकालले प्रष्ट्याए ।