काठमाडौं। कञ्चनपुर जिल्लाका विभिन्न स्थानीय तहमा आजदेखि पाँच दिन विद्युत सेवा बन्द हुने भएको छ। लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि ११ देखि १५ गतेसम्म विद्युत् आपूर्ति सेवा बन्द गरिने भएको हो।
कलुवापुर ३३/११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण स्थान, कृष्णपुर नगरपालिकाको वडा नं १, २, ३ का सुन्दरीफाँटा, दोमिल्ला, पहरिया, गोजे, कुमगडा, वाणी, बङ्कलगायत स्थानका साथै बेलौरी वितरण केन्द्रका सम्पूर्ण स्थानमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
आज शुक्रबार र १४ गते सोमबार बिहान ९ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ । यसैगरी, माघ १२ गते शनिबार, १३ गते आइतबार, १५ गते मङ्गलबार दिउँसो १ देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ।
गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रले जनाएको छ। अत्तरियास्थित नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रियामार्फत जीर्ण अवस्थाका पुल र तार फेर्ने काम गर्ने बताइएको छ।