भोजपुर। सडकखण्डको निर्माणमा बेवास्ता गरेपछि भोजपुर संखुवासभा प्रवेश गर्ने मुख्य नाका धनकुटाको लेगुवा हिले सडकखण्ड हिलाम्य हुँदा दुबै जिल्लाका नागरिकहरु प्रत्यक्ष रुपमा समस्यामा परेका छन्। दुईवटा जील्लालाई जोड्ने मुख्य राजमार्गका रुपमा रहेको उक्त सडक वर्षा समयमा हिलो हुने र हिउँदको समयमा धुलो हुने भएकाले गर्दा यस स्थानमा बसोवास गर्ने मानिसले वषौँ देखी दुख भोग्दै आइरहेका छन्। उक्त सडक हिलाम्य भए पश्चात यातायातका साधन सहित दुबै जील्लामा खाद्यान्न ढुवानीमा पनि समस्या भएको छ।
धनकुटाको सिमाना अरुण नदीको लेगुवाघाटसम्मको भोजपुर खण्डमा ६६ किलोमिटर सडक कालोपत्रे भएतापनि धनकुटाको लेगुवा हिले सडकखण्डको लगभग २६ किलोमिटर सडक निर्माणमा ढिला भएकोले संखुवासभा, भोजपुर, र धनकुटा लगाएतका स्थानीयतहका स्थानीयबासीहरु समस्यामा परेका छन्।
उक्त सडकमा कतिले त आफ्नो ज्यान समेत गुमाउनु परेको छ, भने वर्षाको समय सुरु भएसँगै ६ घण्टासम्म सवारी साधन फस्ने गरेका छन्। भोजपुरमा उपचार हुन नसकेको बिरामीलाई अन्य ठाउँमा लानको लागी मुख्य मार्ग यही सडकखण्ड भएको कारणले गर्दा अरु मानिसहरु घण्टौं अलपत्र परेर गन्तब्यमा पुगे पनि बिरामीहरुको ज्यान अकालमा जाने गरेको भन्दै स्थानीयले गुनासो गरेका छन्।
संखुवासभा र भोजपुरको खाद्यान्न ढुवानी गर्ने मुख्य मार्ग यही भएकोले गर्दा चाडबाड नजीक हुँदा पनि ढुवानीमा समस्या भएको व्यापारीहरुले बताए। विभिन्न कामले घरबाट निस्केका मानिसहरु यो सडकमा पुगेपछि गन्तब्यमा पुग्न नसकेर अलपत्र परेका छन्।
लगभग १ किलोमिटर पाख्रीबास नगरपालीकामा रहेको सडक हिलाम्य हुँदा यस स्थानबाट जोखिम मोलेर हजारौँ यात्रु यात्रा गर्नको लागी बाध्य भएका छन्। दैनीक यही सडक हँदै यात्रा गर्नु पर्दा बाटोमा लामो समय सम्म गाडी फस्छ र निकाल्न प्रयास गर्दागर्दै दिन रात बित्ने भएका कारण समयमा खान समेत पाइदैन यात्रुहरुको झनै बिजोक भएको पाईन्छ। यस्तो अवस्था देख्दा पनि यस स्थानका जनप्रतिनिधि र सरोकारवालाहरु मौन रहेको भन्दै सवारी चालकले आफ्नो गुनासो व्यक्त गरेका छन्।
सडक निर्माणमा ठेकेदार कम्पनीले ढिलाई गर्दा यात्रुबाहक तथा ढुवानीका साधनहरु घण्टौंसम्म हिलोमा फस्ने गरेका छन्। विगतका दिनमा उक्त सडकमा ग्राभेल गरिएको थियो पछि सडक निर्माण गर्ने भन्दै ग्राभेल हटाइयो तर काम भने भएन।
भेजपुरबाट ६ देखी ७ घण्टामा धरान पुग्दै आएका यात्रुहरु हाल १० देखी १२ घण्टामा मात्र धरान पुग्ने गरेको पाइन्छ। सडकको समस्या समाधान गर्न पहल गरिरहेको पाख्रीबास नगरपालीाकाले बताएको छ। नगर उपप्रमुका अनुसार उक्त सडकका कारणले धेरै समस्या भईरहेको र निर्माण व्यवसायीहरुलाई चाडो काम गर्नकोलागी अनुरोध गरिरहेको छ।
विगतमा निर्माण कम्पनीको तर्फबाट काममा ढिला भएपनि हाल दुईवटा क्षेत्रमा काम भईरहेका छ। उहाँका अनुसार ठेक्का लागीसकेको सडक भएकाले हामिले बजेट विनियोजन गरेर काम सुरु गर्ने अवस्था छैन। तर पनि समयसमयमा आफ्नै एस्काभेटर प्रयोग गरेर सडकको मर्मतकार्य भइरहेको छ।
स्थानीयवासीका अनुसार विभिन्न बाहना बनाएर सडक निर्माणको काममा ढिलाइ भएको हो। सडकलाई सहज रुपममा सञ्चालन गर्न उनिहरुले माग गरेका छन्।