काठमाडौं। ताप्लेजुङ पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै मंगलबार आन्दोलन गरिने भएको छ। मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका पाँचवटा संस्थाले माघ १५ गते मंगलबारदेखि मेची राजमार्ग र तमोर करिडोरमा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्।
पाथीभरामा शनिबार भएको झडपको विरोध, केबलकार निर्माण कम्पनी फिर्ता लगायतको माग राख्दै प्रदेश नम्बर १ पुन नामांकन संयुक्त संघर्ष समिति, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी बन्दको आह्वान गरेका छन्।
सात बुँदे आन्दोलनको कार्यक्रममा उनीहरुले मेची राजमार्ग, तमोर करिडोर र तेहृथुमबाट ताप्लेजुङतर्फ छिर्ने नाकाहरुमा अनिश्चितकालीन यातायात बन्दको आह्वान गरेका छन् ।
चन्द्र ढकालले सञ्चालन गरेको आइएमई बैंकको खाता बन्द गर्न आह्वान गरेका छन् भने माघ १४ गते बैंकको अगाडि शान्तिपूर्ण धर्ना दिने बताएका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, तेहृथुम, धनकुटा, झापा, मोरङ, सुनसरीको ग्लोबल आइएमई बैंक बन्द गर्नुपर्ने माग पनि राखेका छन् ।