काठमाडौं। २०७२ को भूकम्पपछि भारतको अनुदानमा बन्ने परियोजनाहरुको प्रगति समिक्षा गरिएको छ। भूकम्पपछि पूनर्निर्माणका लागि भारतले नेपाललाई अनुदान दिएर बनेका परियोजनाहरुको प्रगति समिक्षा गरिएको हो।
भारतले नेपाललाई २५ करोड अमेरिकी डलर बराबर अनुदान सहायता दिने प्रतिबद्धता गरेको थियो ।भारतको सहायता चार भिन्न क्षेत्रका लागि छुट्याइएको छ । जसमा सर्वसाधारणका घर पुनर्निर्माणमा १० करोड डलर, शिक्षामा ५ करोड, स्वास्थ्य ५ करोड र सांस्कृतिक सम्पदामा ५ करोड डलर छ ।
ती सबै परियोजना अनुगमन गर्न अगस्ट २०१७ मा संयुक्त परियोजना अनुगमन समिति गठन भएको थियो । दुई देशबीचको उक्त समितिको पछिल्लो बैठक १४ माघमा काठमाडौंमा भयो ।
बैठकमा दुवै देशका सरकारी अधिकारीहरू, परामर्शदाता, सरोकारवाला लगायत सहभागी थिए ।
बैठकमा चार क्षेत्रमा सञ्चालित परियोजनाको बृहत समीक्षा गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । सर्वसाधारणको घर पुनर्निर्माण परियोजना सन् २०२१ र शिक्षा क्षेत्रको परियोजना २०२४ मा सफलतापूर्वक सम्पन्न भइसकेको दूतावासले जनाएको छ ।
त्यसैगरी स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाका प्रगतिप्रति दुवै देशले सन्तुष्टि जनाएको र तोकिएको मितिभन्दा पहिले नै काम सम्पन्न गर्ने प्रतिबद्धता बैठकमा जनाइएको थियो ।
अक्टोबर २०२३ मा बसेको समितिको बैठकयता भारतले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय पुनर्निर्माण सहित शिक्षा क्षेत्रका २६ परियोजना नेपाललाई हस्तान्तरण गरिसकेको छ ।
त्यस्तै स्वाथ्य क्षेत्रका ३२ परियोजना र सांस्कृतिक सम्पदातर्फका ३ परियोजना पनि हस्तान्तरण गरिसकेको छ । यी परियोजनाको लागत ३ अर्ब ३५ करोड रुपैयाँ बराबर रहेको भारतीय दूतावासले जनाएको छ ।
यसैगरी सोही अवधिमा स्वास्थ्य क्षेत्रका ४३ परियोजना र सांस्कृतिक सम्पदा क्षेत्रका ९ परियोजना सम्पन्न भएका छन् । जसको कुल लागत १ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ बराबर छ ।
समिति बैठकमा दुवै पक्षले भूकम्पपछिको पुनर्निर्माणका परियोजनाले आर्थिक तथा सामाजिक रूपमा पारेको सकारात्मक प्रभाव एवं नेपालका दुर्गम भेगमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा थपिएका सेवा सुविधा र रोजगारी सिर्जनाबारे प्रशंसा गरेको बताइएको छ।