काठमाडौँ। ढाकास्थित नेपाली राजदूतावासले ऊर्जा उत्पादनमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरेको छ।नेपाली राजदूतावासले बुधबार साँझ “नेपाल र बङ्गलादेशबीचको व्यापार र लगानी सम्बन्ध” विषयमा कार्यशाला आयोजना गरी बङ्गलादेशका लगानीकर्तालाई यस्तो आग्रह गरेको हो।
उक्त अवसरमा राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश बीचको बढ्दो आर्थिक संलग्नताबारे चर्चा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, ऊर्जा र पर्यटनलगायत क्षेत्रमा हासिल भएको प्रगति, नेपालबाट पहिलोपटक ४० मेगावाट जलविद्युत् बङ्गलादेश आयात, ऊर्जा सहयोगले दुई देशलाई मात्र नभई सम्पूर्ण दक्षिण एसिया क्षेत्रलाई त्यसबाट लाभ हुने बताए ।
राजदूत भण्डारीले बङ्गलादेश व्यापारिक नेताहरूलाई नेपालको व्यापार समुदायसँग समन्वयात्मक साझेदारी निर्माण गर्न र नेपालमा उपलब्ध लगानीका अवसरहरूको उपयोग गर्न पनि आग्रह गरेको राजदूतावासले जनाएको छ ।
कार्यशालाका विशेष अतिथि लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको लगानी वातावरण, अवसर र प्राथमिकताका क्षेत्रबारेमा विस्तृत जानकारी दिँदै ऊर्जा, पर्यटन, कृषि, सूचना तथा सञ्चार प्रविधि, शहरी पूर्वाधार, स्वास्थ्य, खानी तथा खनिजलगायत प्राथमिकताका क्षेत्रमा लगानी गर्न बङ्गलादेशका लगानीकर्तालाई आग्रह गरे ।