काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
बुधबार नयाँ दिल्लीमा भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन्।
उनले लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी रहेकाले ढुक्कसाथ लगानी गर्न आग्रह गरेका छन्। नेपाल सरकारको सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्याउने महत्त्वाकाङ्क्षी लक्ष्यका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकाले नेपालमा लगानीको सुनौलो अवसर रहेको अध्यक्ष कार्कीले बताए।
उनले नेपाल लगानी बोर्डले गरेको प्रारम्भिक अध्ययनअनुसार, नेपालको सौर्य ऊर्जा उत्पादन क्षमता ४.३२ गिगावाटभन्दा बढी रहेकाले सौर्य ऊर्जामा पनि भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने बताए ।
नेपाल आदानी समूह, टाटा पावर, जिन्दल पावर, जिएमआर समूह, एसजेभीएन लिमिटेड, एनएचपिसीजस्ता प्रमुख भारतीय व्यापारिक घरानाहरूसँग साझेदारी गर्न इच्छुक रहेको उनले जानकारी गराए ।
इप्पान उपाध्यक्ष आनन्द चौधरीले नेपालमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन भइरहेकामा चार हजार मेगावाट बराबरका आयोजना निर्माणाधीन रहेको, चार हजार १०० मेगावाट क्षमताका आयोजना विद्युत् खरिद बिक्री सम्झौता (पिपीए) गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेको र करिब २० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको चरणमा रहेको बताए ।