काठमाडौं। नेपालबाट चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्त्वका मूर्ति नेपाल फर्काइएको छ। मूर्ति नेपाल फर्काएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आइतबार पाटन संग्रहालय र राष्ट्रिय कला संग्रहालयलाई हस्तान्तरण गरेका हुन्।
पर्यटन मन्त्रालय मातहतका पुरातत्व विभागले हालसम्म बेलायत, अस्ट्रिया, अमेरिका, चीन, तिब्बत, भारत, जर्मनी, अस्ट्रेलिया र इटालीबाट कुल १ सय ७७ थान पुरातात्विक महत्त्वका मूर्ति फिर्ता भइसकेको जनाएको छ । हालसम्म अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्त्वका वस्तुको संख्या १ सय ४ पुगेको छ ।
मूर्ति हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपालबाट चोरी भई संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याउने बताए ।
उनले भने, ‘हाम्रा सम्पदा संसारको कुनै पनि कुनामा पुगोस्, नेपालीले हाम्रा आफ्ना सम्पदा चिन्छन् । त्यसको महत्त्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसारभरि फैलिएका नेपालीले योग्यता राख्दछन्।’
नेपालको सम्बन्ध विश्वव्यापी भएको भन्दै उनले चोरीका मूर्ति नेपाल फर्काएछौं भन्ने सकारात्मक सन्देश दिन सफल भएको उनले बताए । उनले विगतमा नेपालका महत्त्वपूर्ण पुरातात्विक मूर्ति कसरी विदेश पुगे भन्दै प्रश्न समेत गरे ।