काठमाडौं । व्यावसायिक संस्थाहरूले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग राख्दै चरणवद्ध आन्दोलन घोषणा गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स रुपन्देहीले बुधबार भैरहवामा संयुक्त पत्रकार सम्मेलन गरी सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरेर चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा गरेका हुन् ।

पहिलो चरणमा रुपन्देहीका विभिन्न राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधिका साथै संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरी प्रतिवद्धता लिने, सम्बन्धित एअरलाइन्सका प्रमुखसँग छलफल गर्ने बताइएको छ । त्यसैगरी जिल्लाका संघ, दल, सर्वसाधारण, जनप्रतिनिधि लगायत उपस्थित भई विमानस्थल अगाडि शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, र श्रम मन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव र नेपाल वायुसेवा निगमका प्रमुखहरूलाई अल्टिमेटम दिने अध्यक्ष ज्ञवालीले जानकारी दिए । पहिलो चरणको आन्दोलन अन्तर्गत नै कालोपट्टी बाँधेर दबाबमुलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्याली तथा बजार परिक्रमा गरिने छ ।
त्यसैगरी दोस्रो चरणको आन्दोलनमा भने विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोध सभा र आन्तरिक उडानसमेत बन्द गराउने अध्यक्ष ज्ञवालीले बताए । विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिवद्धता जनाएपछि आफूहरूले आन्दोलन स्थगित गरे पनि प्रतिवद्धता कार्यान्वयन नभएकाले बाध्य भएर फेरि आन्दोलनमा आउनु परेको उनीहरुको भनाइ छ ।
उद्घाटन भएको तीन वर्ष बित्न लाग्दासमेत विमानस्थलबाट नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । नियमित उडान नहुँदा विमानस्थल लक्षित गरी होटेल तथा पर्यटन क्षेत्रमा भएको करिब एक खर्ब लगानी जोखिममा परेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।