काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक कालोपत्र गरिने भएको छ। चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति र कालोपत्र हुन लागेको हो।
पोखरेबगरबाट घार, खिवाङ, शिख हुँदै घोप्टेखर्कसम्मको १४ किलोमिटर सडक विस्तार, नाली निर्माण र ग्राभेल सकेर १० किलोमिटर दूरीमा कालोपत्रका लागि सबबेस राखिएको छ।
विसं २०७५ मङ्सिरदेखि तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न आयोजना सुरु गरेको थियो।
साँघुरो, कच्ची र ग्रेड नमिलेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्यावियन पर्खाल बनाउर्न ३.७५ किलोमिटर कालोपत्र गर्न रु २७ करोड ९१ लाख ३५ हजार २२० मा मोतीदान–जयमाता जेभीसँग सम्झौता गरेको थियो।
कम्पनीका अनुसार आगामी वैशाख महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित दैनिक १२० मजदुरलाइ काममा परिचालन गरिएको छ। तापक्रम अनुकूल भएपछि फागुनदेखि कालोपत्र सुरु गर्नुअघि नै विस्तार, नाली र पर्खाल निर्माणको काम सक्ने हिसाबले उपकरण र मजदुर परिचालन गरिएको हो।
उक्तआयोजना विसं २०७७ जेठमा सम्पन्न गर्ने लक्ष्य राखिएको भएतापनि विभिन्न कारणले गर्दा ढिलाई भएको हो। मार्ग खुलेको एक दशकपछि सडक स्तरोन्नति हुन लागेको हो। म्याग्दीको गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक यातायात मात्र नभएर पर्यटन, कृषिको विकासका लागि समेत उत्तिकै महत्व छ।
सडक स्तरोन्नतिपछि घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारका स्थानीयवासीलाई आवतजावतका साथै ढुवानी तथा कृषि, पशु र वनजन्य उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा छ। लामो समयपछि सडक स्तरोन्नती र कालोपत्रे हुने हुँदा यस स्थानका स्थानीय उत्साहित भएका छन्।