काठमाडौं। राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको निर्माण कार्य रोकिएको छ। उक्त आयोजनामा काम गर्दै आएका मजदुरहरूले जिल्ला दर रेटभन्दा कम पारिश्रमिक दिएकामा विरोध गर्दै शुक्रबारबाट निर्माण कार्य रोकेका हुन्।
सो आयोजना निर्माणको लागि ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जिल्ला दर रेटभन्दा कम पारिश्रमिक दिएकाले हुनाले त्यसको घोर विरोध गर्दै मजदुरले सम्पूर्ण काम अनिश्चितकालका लागि रोकेका छन्। यसैगरी मजदुरहरूले आयोजनाले दिएको पारीश्रमिक ज्याला अत्यन्तै न्यून भएकाले उक्त तलबले आफू र आफ्नो परिवार धान्न कठिन भएको बताउँदै जिल्ला दर रेटअनुसार पारिश्रमिक दिन माग गरेका छन्।
आन्दोलिनमा उत्रिएका मजदुरहरूले शनिवार आयोजनाको निर्माण कम्पनीलाई बुझाएको ज्ञापन पत्रमा जिल्ला दर रेट कायम हुनुपर्ने, ओभर टाइम एक घण्टा काम गरेपछि डेढ घण्टाको तलब पाउनुपर्ने, शनिबार पनि ओभर टाइम हुनुपर्ने, चाडपर्व, सरकारी विदाको ओभर टाइम हुनुपर्ने, दशैं बोनस पाउनुपर्ने, बिरामी हुँदा उपचारसहित नर्मल हाजिरी हुनुपर्ने लगायतका माग गरेका छन्। आफूहरुको माग पुरा नभएसम्म आयोजनाको सम्पूर्ण काम बन्द गरिने उनीहरुले जनाएका छन्।
उक्त आयोजना निर्माणमा हाल लेबर १ सय १० जना मिस्त्री ५० जना, मेकानिक ८ जना, अपरेटर २० जना, वेल्डर ७ जना, दोभासे ४ जना, कार्यालयका अन्य कामदार र ड्राइभर गरी ३ सय २० जना मजदुर कार्यरत रहेका चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले जानकारी दिएको छ। सुनकोसी मरिन डाईभर्सन अन्तर्राष्ट्रिय आयोजना भएकाले केन्द्रीय सरकारको दररेट अनुसार मजदुरहरूलाई ज्याला दिँदै आएको कम्पनीले जनाएको छ। सो आयोजनामा काम गर्दै आएका मजदुरहरूले हाल ८ घण्टा काम गरे बापत दैनिक सुख्खा ५ सय ८० रुपैयाँ र मिस्त्रीले सात सय ३५ रुपैयाँका दरले पाउँदै आएको त्यही कार्यरत एक मजदुरले जानकारी दिएका छन्।
सुनकोसी मरिन डाइभर्सन परियोजनाको सुरुङ निर्माणसँगै अन्य संरचना निर्माण ११ अर्ब २९ करोड २७ लाख २६ हजार ३३४ रुपैयाँमा भइरहेको छ। उक्त आयोजनाका लागि सुनकोसीबाट कमलामाई नगरपालिका–२ कुसुम टारसम्म १३ दशमलव ३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ।
तामाकोसी र सुनकोसी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिन खोलामा खसालिने र मरिन खोलामा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिने छ भने मरिणमा पानी खसाल्दा विद्युत गृह पनि निर्माण गरी २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना रहेको छ। उक्त आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ।