काठमाडौं। दाङदेखि रोल्पा, रुकुम पश्चिम र पूर्व हुँदै डोल्पा जोड्ने सहिद मार्ग वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ। केही जिल्लामा सडक निर्माण सकिएको छ भने केहीमा हाल निर्माणकै क्रममा रहेको छ। यसैगरी कालोपत्रे गरेका केही सडकहरु भने वर्षायाममा भासिएर जताततै खल्डा खुल्डी बनेको छ। यसले गर्दा सडक दुर्घटना बढेका छन।
सडक दुरअवस्थाको कारण सहिद मार्गअन्तर्गत कोर्चाबाङ–दुईखोली र घर्तीगाउँ खण्डको आसपासमा गत कात्तिक अन्तिम र मंसिर पहिलो सातामा मात्र दुईवटा गाडी दुर्घटना भएको थियो। दाङको घोराहीदेखि होलेरीसम्म गत वर्ष कालोपत्रे सकिएको थियो। तर हाल उक्त सडक खण्डको लगभग पूरै भागमा कालोपत्र उप्किएको छ।
सडक सुधार र कालोपत्रेका लागि सम्झौता गरेका ठेकेदारले तोकिएको समयमा काम पूरा नगरेको रोल्पाको लिबाङस्थित सहिद मार्ग निर्माण योजनाको कार्यालयले जनाएको छ। सम्झौता अनुसार काम नहुनु, बजेट अभाव हुनु र राजनीतिक नेतृत्वको साथ नहुनाले पनि उक्त सडक योजना १५ वर्षदेखि कछुवा गतिमा चलिरहेको कार्यालयले जानकारी दिएको छ।
गतवर्ष कालोपत्र गरिएको घोराहीदेखि होलेरीसम्मको ३१ किलोमिटर सडक खण्ड हस्तान्तरण गर्नुपुर्व नै भत्किएको थियो। त्यसैले सरकारले उक्त निर्माण कम्पनीलाई पुनः निर्माणका लागि आग्रह गरेको छ। सडक कालोपत्र गर्ने सम्झौताअनुसार करिब ९० प्रतिशत काम सम्पन्न गरिसकेका निर्माण कम्पनीले क्षतिपूर्ति माग गर्दै सरकारविरुद्ध उल्टै मुद्दा दर्ता गरेका छन्।
उक्त सडकको कालोपत्र गर्न भारतीय एक्जिम बैंकबाट सरकारले सहुलियत ऋण लिएको थियो। आर्थिक वर्ष २०६४र६५ मा माओवादीसमेत सहभागी भएको तत्कालीन सरकारले २ सय २० किलोमिटर रहेको उक्त सडक योजना सम्पन्न गर्न पहल थालेको थियो। घोराहीदेखि सडकको ट्र्याक खोल्ने कार्य हाल रुकुम पूर्वको मैकोटसम्म पुर्याइएको छ। यसमा पनि सडकको थोरै भागमा मात्रै चौडा बनाउने, नाली खन्ने र ग्राभेल गर्ने काम सकिएको छ।
उक्त सडक निर्माण गर्न हालसम्म २ अर्ब ६३ करोडभन्दा बढी बजेट खर्च भइसकेको आयेजना कार्यलयले जानकारी दिएको छ। सो सडक निर्माण सम्पन्न गरिसक्दासम्म ११ अर्ब १७ करोड बजेट खर्च हुने कार्यालयको अनुमान रहेको छ।