काठमाण्डौं। सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ। बजेट अभावमा स्तरोन्नति हुन नसकेका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको हो।
सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा धनगढी विमानस्थलका लागि रु एक अर्ब, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि रु छ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि रु दुइ करोड ५१ लाख ३२ हजार ७४३.३६, बैतडीको पाटन विमानस्थलका लागि रु एक करोड ५० लाख ४४ हजार २४७.७८ बजेट विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।
यसैगरी दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रु दुइ करोड ६५ लाख ४८ हजार ६७२.५६, बझाङ विमानस्थलका लागि रु १२ लाख ९९ हजार २००, बाजुरा विमानस्थलका लागि रु १८ लाख ७६ हजार ३००, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि रु ५० लाख तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि रु १८ करोड ६१ लाख ४७ हजार १०० बजेट विनियोजन गरिएको छ।
बजेट अभावका कारण विमानस्थल स्तरोन्नती हुन नसक्दा सर्वसाधारणले समस्या भोग्दै आएका थिए। विमानस्थलको स्तरोन्नती भएपछि यात्रामा सहज हुने विश्वास गरिएको छ।