भगीरथ भण्डारी
इलाम। इलामको रोङ गाउँपालिकाले एक करोड ५० लाख बढीको लागतमा पदमार्ग निर्माण गरेको छ । गत वर्ष गाउँपालिका र संघिय सरकारबाट १५/१५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १२ लाख, चालु आर्थिक वर्ष संघिय सरकारबाट ६२ लाख, गाउँपालिकाबाट ३० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २० लाख गरी करिब एक करोड ५० लाखको लागतमा पदमार्ग निर्माण गरिएको हो ।
रोङ गाउँपालिकाले हाँस पोखरीदेखि सिद्विखोलासम्म २९ किलोमिटरको पदमार्ग निर्माण गरेको छ। कार्यपालिकाले निर्णय गरेरै मार्गको नामाकरण लेप्चा जातिको भाषाबाट करसोङ (सुनाखरी) राखेको छ ।
पाथिभरा मन्दिर नजिकै रहेको हाँसपोखरीबाट शुरु गरेर गुगलडाँडा, दैले हुँदै सुर्य उदाएको देखिने झण्डीडाँडाबाट सिद्धीखोलासम्म २९ किलोमिटर यात्रा गर्न सकिने रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार (सुवास ) स्याङ्वोले जानकारी दिए।
पदमार्गमा साइक्लिङ ट्र्याक पनि खुला भएको र साइक्लिङ ट्र्याक विभिन्न साइक्लिङ प्रतियोगिताका लागि पनि उपयुक्त भएकाले प्रतियोगिता पनि गर्न जकिने बताइएको छ।
यस वर्ष साइक्लिङ रेस र माउन्टेन बाइकको प्रतियोगिता पनि गराउने सोचमा पालिका रहेको पालिकाका प्रवक्ता वडाध्यक्ष सुवासको भनाइ छ । जसका लागि माउन्टेन बाइकर राकेश मानन्धर सहितको टोली आएर भौगोलिक अवस्थाको अनुसन्धान गरेर फर्किएको प्रवक्ताले जानकारी दिए । पदमार्गको विकासपछि ग्रामीण रोङको स्थानीय उत्पादनको पवद्र्धन हुने र स्थानीयले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
पदमार्गको आसपास नेपाली सेनाको सहयोगमा २५ हजार लालीगुँरासका बिरुवा रोपिएको छ भने अब एक लाख बिरुवा रोप्ने लक्ष्य रहेको वडाध्यक्षले बताए।