काठमाण्डौं। पश्चिमी र उत्तरी म्याग्दीका भीर र पहरालाई छिचोलेर निर्माण गरिएका सडक पुगेपछि यहाँका स्थानीयको दैनिकीनै परिवर्तन भएको छ। केही वर्ष अघिसम्म खच्चडलाई भारी बोकाएर खर र बुट्यानलाई समात्दै पार गर्नुपर्ने भीर र पहराको गोरेटो बाटो अब भने देख्न पनि मुस्किल हुन थालेको हो।
विकास र सुविधाको पहिलो आधार नै सडक भएको स्थानीयवासीले महसुस गर्न थालेका छन्। भारी बोक्ने भरिया र खच्चड विस्थापित भएका छन् भने खच्चड पालेर भारी बोकाउने व्यवसाय गर्दै आएकले पेशा परिवर्तन गरेका छन्।
धौलागिरि आधार शिविर रहेको पश्चिमी म्याग्दीमा पनि धौलागिरि गाउँपालिका–१ गुर्जा बाहेक अरु ठाउँमा सडकको पहुँच पुगेकाले भारी बोकाएर व्यवसाय गरेर जीविकोपार्जन र आयआर्जन गर्दै आएका धेरैको पुस्तौनी पेशा परिवर्तन भएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए।
दुई पुस्तासम्म खच्चडमार्फत ढुवानी गर्दै आएका स्थानीयले अहिले खच्चड बेचेर जीप खरिद गरेकाछन । पहिला पहिला खच्चड खेद्दै भीरको बुट्यानमा झुण्डिएर आवतजावत गरेको बाटोमा अहिले गाडी गुडाउन पाउदा स्थानीय आनन्द भएको महसुस गर्छन्।
बेनी–दरबा–मुना सडक निर्माण भएपछि पश्चिम म्याग्दीको व्यापारिकस्थल दरबाङबाट तीन दर्जन भन्दा बढी गाउँमा ग्रामीण सडकको पहुँच पुगेकोछ।
ग्रामीण सडकको पहुँचसँगै त्यहाँका खच्चड व्यवसायीले पेशा परिवर्तन गरेका छन्। सडक निर्माण भएर यातायातका साधन चल्न थालेपछि दैनिक उपभोग्य बस्तुको ढुवानीदेखि आवातजावत र बिरामी पर्दा अस्पताल पुग्न सहज हुन थालेको स्थानीयले बताए।
सडकमा सवारी चल्न थालेपछि धवलागिरि, मालिका, मङ्गला, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका बासिन्दालाई आवतजावतमा सहज भएको छ। सडकले यहाँका ग्रामीण बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य सस्तिनुका साथै यहाँ आउने आन्तरिक पर्यटकका लागी आवतजावतमा सहज भएको छ।