काठमाडौं। बाँकेको बैजनाथ ५ सङ्गम चोक देखि शिव मन्दिर सम्मको सडके कालापत्रे तथा नाली निमार्ण नहुँदा स्थानीयवासीले सास्ती झेल्दै आएका छन्। पहिलेको बनकटवा वडा न. ७ मा पर्ने उक्त सडकको लागि सर्वसाधारणहरू हाल पटक पटक गाउँपालिकालाई घच्घच्याइ रहेका छन्।
गाउँपालिकाले पनि सडक निर्माणको लागि चासो नदेखाएपछि स्थानीयहरु मिलेर बाटो निर्माणको लागि कोदालो, बेल्चा आदि बोकेर धेरै पटक खटिएको तर पनि सडक निर्माण नभएको स्थानीयको गुनासो रहेको छ। वडाकार्यलय तथा गाउँपालिकालाई पटक पटक सडक निर्माणको लागि ध्यानाकर्षण गराएको भएपनी हालसम्म बाटो कालोपत्रे हुन सकेको छैन। सडक निर्माण नहुँदा सडकमा जताततै खाल्डो भएको कारणले गर्दा सडक दुर्घटना पनि बढेको छ।
रङ्गिला चोक देखि बनकटवा प्राथमिक अस्पतालमा जाने बाटोमा पनि नाली बनेको छ तर नाली माथी स्ल्याप नराखिएका कारण बजारमा निकै नै दुर्गन्ध फैलिएको छ।
बैजनाथ गाउँपालिका योजना शाखा अधिकृतले गत बर्ष प्रदेश सामाजिक बिकास मन्त्रालयद्वारा सङ्गमचोक देखि शिव मन्दिर सम्मको ७०० मिटर सडकको स्तरोन्नतिको लागि ३०,लाख बजेट बिनियोजन गरिएको जनाएका छन्। त्यसमध्येबाट सङ्गमचोक देखि गाउँपालिका सम्मको सडक कालोपत्रे र नाला निर्माण गर्न १९लाख, १६हजार ९ सय ७५ को सम्झौतामा नारायणी कन्स्ट्रक्सन कामको जिम्मा पाएको थियो।
त्यो बाहेक बाँकी सडक निर्माणको काम पनि नारायणि कन्स्ट्रक्सनले नै जिम्मा पाएकोमा केही मात्र कालोपत्रे भएको छ भने नाली निर्माण भएकै छैन। सडक कालोपत्रे र नाला निर्माणको काम समयमै भैदिएको भए सहज हुने स्थानीयको भनाइ छ।
नाली निर्माण नहुनाले वर्षा याममा स्थानीयको घर भित्रै पानी पुगेर अफ्ठयारो पार्ने गरेको छ। २०७८ मंसिर ३ गते बसेको गाउँसभामा वडा न. ५ को वडाकार्यालय देखि बनकटवासम्म बाकी खण्ड सडक कालोपत्रेका गर्नको लागि रू २५ लाख बजेट बिनियोजन भएको जनाइएको छ।