काठमाडौं। पूर्वप्रधानमन्त्री तथा संसदीय समिति सदस्य माधवकुमार नेपालले निर्माणमा हुने ढिलासुस्ती र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्तिको अन्त्य गर्न निर्देशन दिएका छन्।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले निर्माणमा देखिँदै आएको ढिलासुस्ती, वेवास्ता, गुणस्तरहित र कमिसन लिन प्रतिस्पर्धा गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका हुन्।
नेपालले लगानी गर्नुभन्दा अघि नै कहाँ विमानस्थल बनाउन हुन्छ र कहाँ हुन्न भन्नेमा यकिन गरेर मात्र काम थाल्न समेत निर्देशन दिए।
उनले भने, ‘भैरहवा विमानस्थलको टर्मिनल निर्माण चित्तबुझ्दो छैन, लापरबाही भएको छ, पूर्वाधार निर्माण गर्दा दीर्घकालसम्म पर्ने प्रभावमा ध्यान दिन आवश्यक छ। निजगढ विमानस्थलको काम किन ढिलासुस्ती भएको छ। कसले काम हुन दिएको छैन? काम किन अघि बढेन? द्रुतमार्गकै छेउबाट रेल ल्याउनुपर्छ यसले खर्च बचाउँछ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसदीय समितिले गर्ने हरेक निर्णय हुबहु पालना गर्ने प्रतिबद्धता जनाए। उनले तारागाउँ विकास समितिको नाममा रहेको जग्गा, पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा समितिले दिएको निर्देशन पूर्णरुपमा कार्यान्वयन गर्ने अठोट व्यक्त गरे।
मन्त्री आलेले भने, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई कुन ढाँचामा अघि बढाउने भन्ने सन्दर्भमा छलफल भइरहेको छ, निर्माणका लागि यसअघि चासो देखाएका कम्पनीसँग छलफल र परामर्श गरिने छ ।’