काठमाडौं। पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर हालसम्म पनि जीर्णोद्धारको काम थालिएको छैन। मन्दिरको जीर्ण भएको भागलाई सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको छ।
वि.सं. २०७३ मा मन्दिर जीर्णोद्धार गर्नुपर्ने भई एक अध्ययन टोलीले मन्दिरको पहिलो तलाको भागमा नापजाँच गरेको थियो। नापजाँचपछि पशुपतिनाथ मन्दिरभित्र मुसाले विभिन्न स्थानमा प्वाल पार्दै गएको र दलिनसमेत फेर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन टोलीले दिएको थियो। उक्त अध्ययनअनुसार जीर्णोद्धार गर्नुपर्नेमा मन्दिरको हाल गजुर क्षेत्रको बिग्रिएको छत्रावली मात्र मर्मत कार्य गरिएको छ।
मन्दिरको पहिलो तलाको मात्र अध्ययन भएको हुँदा जीर्णोद्धार गर्न नसकिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले जानकारी दिएका छन्। त्यसैले हाल दोस्रो तलाको नापजाँच हुनेगरी कार्य अगाडि बढाइएको छ।
पशुपतिनाथका पुजारीसमेत कहिल्यै जान नपाउने मन्दिरको छतको भित्री भागमा नाथका बिसेट र भण्डारी मात्र जान पाउने भएकाले जीर्णोद्धारका लागि मन्दिरको दोस्रो तलामा उनीहरूबाटै नापजाँच र अवस्था अवलोकन गर्नुपर्ने भएकाले यसमा समस्या देखिएको हो। मन्दिरको भित्री तलामा पटक–पटक गएका बिसेटका अनुसार मन्दिरमा छानो चुहिएर दलिन मक्किएको साथै मन्दिरलाई टेक्ने गजवार मक्किएका छन्।
पुरातत्त्व विभागका महानिर्देशकले पशुपतिनाथ मन्दिर जीर्णोद्धारका लागि सेवा र सर्त तयार भइसकेको जानकारी दिएका छन्। पशुपति क्षेत्र विकास कोषले जीर्णोद्धारको अनुमति विभागलाई दिनासाथ विभागबाटै जीर्णोद्धारको थप प्रक्रिया सुरु हुने उनको भनाइ छ।
पशुपतिनाथ मन्दिरको गारोको इँटा फुस्किएका छन्, पाताहरू उप्किएका छन्। त्यसैले यसलाई चाँडो जीर्णोद्धार गर्न आवश्यक रहेको छ। लिच्छवि राजा सुपुष्पले सुरुमा झिँगटीको छानाको मन्दिर बनाएका इतिहासमा उल्लेख छ। काल क्रममा विभिन्न राजा महाराजाद्धारा सुनको मोलम्बासहितको पित्तलको छाना गजुरसहित चाँदीका ढोका र मन्दिरका भित्री थामलाई चाँदीले मोर्ने काम भएको थियो।