काठमाडौं। पूर्वीचितवनको राप्ती नगरपालिका–६ हर्दीमा निर्माणाधीन विद्युत सवस्टेसन निर्माणमा ढिलाइ भएको छ। हर्दी सवस्टेसनबाट चैनपुर सवस्टेसनसम्म डबल सर्किट सवप्रशारण लाइन निर्माणको काममा ढिला भएको हो।
स्थानीयले अवरोध गरेपछि सवस्टेसन निर्माणको काममा ढिला भएको छ। पुरानो राजमार्गहुँदै लगिने सवप्रशारण लाइनको टावर बनाउने क्रममा स्थानीयले अवरोध गरेका छन्।
लगभग ८.५ किमि दुरीमा ४६ वटा विद्युत टावर निर्माण हुनुपर्नेमा अहिलेसम्म जम्मा १४ वटामात्र निर्माण भएका छन्। स्थानीयले १७ बुँदे माग जिल्ला प्रशासन कार्यालयमा बुझाउँदै प्रशारणलाइनको रुट परिवर्तन गर्न माग गरेका हुन्। पुरानो राजमार्ग क्षेत्रको सडक क्षेत्राधिकार एकिन नभएको, दर्जनौ बोर्डिङ, स्कुल, कलेज छेउमै पर्ने, रोग तथा दुर्घटनाको जोखिम बढ्ने, दुरी लामो हुने भन्दै स्थानीयले विरोध गरेका हुन्।
२०७५ असारदेखि पूर्वीचितवन १३२–३३–११ केभी सवस्टेसन आयोजनाको काम सुरु भएको हो। भरतपुरबाट ल्याइएको ३३ केभी फिडरलाई केही वर्षपछि देवनगर–गीतानगरमा बन्ने सवस्टेसनमा पठाएपछि चैनपुर सवस्टेसनको विद्युतको मुख्य स्रोत हर्दी सवस्टेसन नै हुनेछ।
हर्दी सवस्टेसनका प्रशासन प्रमुखका अनुसार स्थानीयकै सहमतिमै छिटै टावर बनाउने काम सुरु हुने छ। ‘वस्तीनै जोखिममा पारेर विद्युत लाइन लैजाने कल्पना समेत गर्न सकिँदैन, यी सबै नीति र मापदण्ड पालना गरेरै काम गर्दैछौं।’
५१ करोड ५१ लाख रुपैयाँ बराबरको आयोजनाको सवप्रशारण लाइनको काम पूरा गर्न ३ करोड ७० रुपैयाँ छुट्याइएको छ।