खोटाङ। पर्यटकीयस्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन अवस्थामा रहेको छ।
हाल उक्त निर्माणाधीन टावरलाई अवलोकन गर्न, सेल्फी खिच्न र वनभोज खान आउने आन्तरिक तथा बाह्य पर्यटकको सङख्या बढ्दै गएको छ। समुद्री सहतबाट करिब १ हजार ८०० मिटर उचाइमा उक्त टावर निर्माण भइरहेको छ। निर्माणाधीन पेन टावर हाल पर्यटकका लागि खुला नगरिएको स्थानीयले जनाएका छन्। सो टावरको काम ९० प्रतिशत सकिएको र आगामी चैत मसान्तभन्दा अगाडि नै सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिएका छन्। अब निर्माणाधीन पेन टावरमा फिनिसिङको काममात्र बाँकी रहेको छ।
सङ्घीय सरकारको रु ७२ लाख लगानीमा सो टावर निर्माण भइरहेको छ। सो टावरमा दृष्यावलोकन गर्ने ठाउँ र प्रवेशद्वारको काम बाँकी रहेको जनाइएको छ। पेन टावरबाट सर्वोच्च शिखर सगरमाथालगायत उच्च हिमाली शृङ्खला तथा तराईका फाँटको दृश्यावलोकन गर्न सकिने जनाइएको छ। प्रदेश सरकारको समपूरक कोषको रु. ७१ लाख लगानीमा टावर परिसरमा पिकनिक स्पोर्टस निर्माण भइरहेको छ।
यसैगरी पर्यटकलाई आकर्षीत गर्ने उद्देश्यले टावर परिसरमा कृतिम ताल पनि निर्माण भइरहेको छ। उक्त ताललाई 'रुरु ताल’ भनेर नामाकरण गरिएको छ। कृतिम ताल निर्माणका लागि नगरपालिकाले रु. ५४ लाख लगानी गरेको छ। तीन वर्षभित्र निर्माण सम्पन्न गरिने तालको काम रु. २ करोड ५७ लाखमा सम्पन्न हुने निर्माण उपभोक्ता समितिका अध्यक्षले जानकारी दिएका छन्। करिब १० मिटर उचाइको पर्खाल निर्माण गरेर बनाइने तालभित्र करीब ७ मिटर गहिराईमा पानी जम्ने साथै तालमा डुङ्गा सयर गरेर मनोरञ्जन गर्नुका साथै आसपासमा पानीको मुहान बढ्ने अपेक्षा राखिरिएको छ। उक्त निर्माणाधीन कृत्रिम ताल १८० मिटर लम्बाइ र १५० मिटर चौडाइको हुने जनाइएको छ।
नगरपालिकाको क्रमागत योजनाअन्तर्गत चालु आर्थिक वर्ष रु. ५४ लाख बजेटबाट काम सुरु गरिएको दिक्तेल–पाथेका सडकखण्डमा पर्ने बगरे भञ्ज्याङको पेन टावर, कृतिम ताल र पिकनिक स्पोर्टसले जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ। यसका साथै वर्षात्का समयमा ओत लागेर बस्न मिल्ने स्टिल ट्रष्ट पनि निर्माण गरिने योजना रहेको निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ।
बगरे भञ्ज्याङको चौतर्फी विकासमा नगरपालिकाले चासो देखाएपछि स्थानीयवासी हर्षित भएका छन्। मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरे भञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्ग निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ।
भौगोलिकरुपमै पर्यटकीयस्थल रहेको बगरे भञ्ज्याङ आसपास लालीगुँरास, चाँप, विभिन्न प्रजातिका सुनाखरी, चिमाल लगायतका फूल तथा जडीबुटी पनि पाइन्छ। मृग, हरिन, घोरल, थार, खरायोलगायत जङ्गली जनावर भेटिने बगरे भञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर, जुरेलीजस्ता विभिन्न प्रजातिका चराचुङ्गी देख्न पाइन्छ। यसले पर्यटकलाई अझ बढी आकर्षन गर्ने गरेको पाइएको छ।
बगरे भञ्ज्याङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि बढाएसँगै सडक स्तरोन्नतिको कामलाई समेत तीव्रता दिइएको छ। हाल कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी तथा दिक्तेल–पाथेका सडक धमाधम फराकिलो बनाउने काम भइरहेको नगरपालिकाले जनाएको छ।
जिल्लाको उत्तर–पूर्वी क्षेत्रमा पर्ने बगरे भञ्ज्याङ नेपाल सरकारले पैदलयात्राका लागि निर्धारण गरेको १०० पदमार्ग अन्तर्गत पर्ने मुन्धुम ट्रेलमा पर्दछ। मुन्धुम ट्रेल नाम दिइएको उक्त पदमार्गको ट्रिप गर्दा दूधकुण्ड (नुम्बुर), मकालु, सगरमाथा, कुम्भकर्ण हुँदै कञ्चनजङ्घासम्मको हिमाली शृङ्खला अवलोकन गर्न सकिने जनाइएको छ।