काठमाडौं। देशभरका २१ वटा विमानस्थलहरुमा अहिले कुनै पनि उडान/अवतरण हुँदैनन्। सडक यातायातको पहुँच, व्यवसायिक रुपमा सञ्चालनका लागि योग्य नबन्नु र थप क्षमता विस्तार गर्न सुरु गरेपछि देशभरका २१ वटा विमानस्थलमा अहिले कुनै पनि उडान।अवतरण हुन नसेका हुन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणको सार्वजनिक गरेको तथ्यांक अनुसार अहिले नेपालभर निर्माणाधीनसहित ५६ वटा विमानस्थल रहेका छन्। यी विमानस्थलमध्ये २१ वटा विमास्थलमा उडान हुन सकेको छैन।
प्राधिकरणको विवरण अनुसार विगतमा निकै चलेका बागलुङ, रुकुम, ढोरपाटन, चौरजहारी, दार्चुला, पालुङटार (गोरखा) समेतका विमानस्थल अहिले सञ्चालनमा छैनन्।
विगतमा सगरमाथा आरोहीका लागि मुख्यद्वार मानिने जिरीस्थित विमानस्थल समेत व्यवसायिक रुपमा नचल्ने भएपछि सञ्चालनमा छैन। इलामस्थित विमानस्थलमा समेत दुई वर्ष अगाडि नै परीक्षण भएको थियो।
अहिले उडान/अवतरण हुन नसकेका विमानस्थलहरुमा, बागलुङ, चौरजहारी, दार्चुला, ढोरपाटन, पालुङटार, रेसुंगा (गुल्मी), इलाम, जिरी, कांगेलडाँडा, कालिकोट, खिजी चण्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, डोल्पा, मेघौली, रोल्पा, रुम्झाटार, स्याङबोचे र टिकापुर रहेका छन्।
विगतमा यातायातको एक मात्र विकल्प रहेका बेला निकै चलेका विमानस्थलहरुसमेत अहिले गौचरणमा परिणत बनेका छन्।