काठमाडौं। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल हाल त्यहाँका स्थानीयहरुको लागि घुमघाम गर्ने स्थल बनेको छ। हवाइ उडान गरिनुपर्ने विमानस्थलमा सेल्फी खिच्ने र टिकटक भिडियो बनाउनेहरुको भिड लाग्ने गरेको छ। सो विमानस्थल अहिले सेल्फी स्पर्ट बनेको छ। फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको निर्माण पूरा भएको पाँच महिना बितिसकेको भए पनि अहिलेसम्म उडान सुरु हुन सकेको छैन।
फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण सुरु गरेको २० वर्षमा मात्रै निर्माण पूरा भएको हो। सो विमानस्थल निर्माण प्रक्रिया २०५८ बाटै थालिएको भएपनि विमानस्थल निर्माणको काम भने १० वर्षपछि २०६८ सालमा मात्रै थालिएको र निर्माण थालेको १० वर्षपछि २०७८ मा विमानस्थल निर्माण पूरा भएको हो। लामो समय पश्चात निर्माण पुरा भएको विमानस्थलमा उडान नहुँदा स्थानीय निराश भएका हुन्।
सो विमानस्थलमा गत वैशाखमै दोस्रो पटक परीक्षण उडान गरेर नियमित उडान गर्ने तयारी गरिएको भए पनि हालसम्म उडान निश्चित भएको छैन। यदि उक्त विमानस्थलमा उडान सुरु भएमा इलामको पर्यटनको विकासमा पनि सहयोग पुग्नेछ। इलाम पर्यटकीय क्षेत्र भए पनि लामो यात्रा गर्नुपर्ने भएको कारणले पर्यटकले इलाम जान त्यत्ति रुचाउदैनन्। सडक यात्राको लागि लामो दूरीमा पर्ने इलाममा निर्माण भएको विमानस्थल सञ्चालनमा नहुँदा पर्यटन क्षेत्रमा असर पुगिरहेको छ।
विमानस्थल सञ्चालन गर्न इलाम नगरपालिकाले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ताकेता गरिरहेको इलाम नगरपालिकाको कार्यलयले जानकारी दिएको छ। एयरलाइन्सले फाल्गुनन्द सुकिलुम्बा विमानस्थबाट उडान दिगो नहुञ्जेलसम्मका लागि साझेदारीको अपेक्षा गरेकाले सरोकारवालासँग सुझाव माग गरेको कार्यलयले जनाएको छ।।
हाल सो विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाई पार्कीङसमेत कालोपत्रे भइसकेको छ। ८ करोड ४० लाखको लागतमा धावनमार्गको कालोपत्रे गरिएको हो। धावनमार्ग, कन्ट्रोल टावरसहित ट्याक्सी र हवाइ पार्किङको निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले काम पूरा गरेर नागरिक उड्यन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ।
सुकिलुम्कामा रहेको एउटा बस्तीलाई स्थानान्तरण गरेर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर सो विमानस्थल निर्माण गरिएको हो। उक्त विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ। सो विमानस्थलबाट थोरै यात्रु बोक्ने विमानले उडान भर्न सक्ने छन्।