काठमाडौं। तनहुँको दुई स्थानीय तह जोड्ने एक मोटर गुड्ने पुल निर्माण शुरु भएको लामो समय बितिसक्दा पनि निर्माण पुरा हुन सकेको छैन। शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्नलाई सेती नदीमा निर्माण थालिएको पुल पाँच पटकसम्म म्याद थप गर्दासमेत निर्माण पुरा नभएको हो।
पुल निर्माण शुरु हुँदा खुसी भएका स्थानीय वासिन्दा पुल अलपत्र हुँदा निराश भएका छन्। वि.सं. २०७२ साल असार ३० गते निर्माण सुरु गरेर २०७५ असार २९ सम्ममा पुल निर्माण सक्ने शर्तमा एडभेन्चर कन्ट्रक्सन प्रा.लि. चितवनसँग ठेक्का सम्झौता भएको थियो।
हालसम्म पाचौँ पटक म्याद थपिएको भएपनि पुल निर्माणस्थलमा तीन वटा पिल्लर मात्रै ठडिएको छ। नदी किनारमा दुई र नदीको बिचमा एउटा पिल्लर ठडिएको छ। नदीको बीचमा अझै अर्को पिल्लर बनाउन बाँकी नै छ। गत हिउँदमा चौथो पिल्लर उठाउन जग राख्ने काम भएको भएपनि नदीको बहाव बढेपछि काम रोकिएको थियो। सो पुल निर्माणको लागि आगामी चैत मसान्तसम्म पाँचौ पटक म्याद थप गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ।
कोरोनाले प्रभावित निर्माणाधिन आयोजनालाई ६ महिना म्याद थप्ने सरकारको निर्णय अनुसार चैत्र सम्मको लागि म्याद थप गरिएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ। थपिएको म्यादमा पुल निर्माण सम्पन्न गर्न ताकेता भइरहेको हुनाले हाल रोकिएको निर्माण कार्य भइरहेको छ। समयमै पुल निर्माण नहुँदा सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङजाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित भएका छन्। पुल नहुँदा वर्षायामको बेला यातायात सेवा प्रभावित हुने गरेको छ। उक्त पुल निर्माणको ढिलाईले त्यहाँको बस्ती विकासले पछाडि परेको छ।
उक्त पुल निर्माणमा ढिलाई हुनुमा निर्माण कम्पनीसँगै सडक विभाग अन्तर्गतको पुल महाशाखाको पनि दोष देखिएको छ। भौगोलिक अवस्थाको विश्लेषण नगरिकन महाशाखाले सुरुमा ओपन फाउण्डेशनमा पुलको डिजाईन गरेर पुलको दुईवटा पिल्लरको काम सकी नदीको बीच भागमा पिल्लर राख्ने क्रममा डिजाइन परिर्वतन गरिएको र यसमा पुल महाशाखाले ढिलाई गरेको काम रोकिएको सडक डिभिजन दमौलीले स्विकारेको छ। हाल पुलको डिजाईन परिर्वतन गरेर पायल फाउण्डेशनमा निर्माण गरिदैछ।
८ करोड ८० लाख ५० हजार ८८३ रुपियाँमा भ्याटबाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो। काम सुरु भएको भएपनि निर्माण भने कछुवा गतिमा भइरहेको छ।