काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता भएको हो ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि समस्या झन बढेको छ । सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका– ३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा सडकको अवस्था अत्यन्त दयनीय र डरलाग्दो रहेको अन्नपूर्ण गाउँपालिका–६ का कृष्ण बरुवालले बताए ।
यहाँ सामान्य वर्षा हुदाँसाथ ढुङ्गा, माटो र लेदोसहितको पहिरा खस्नुका साथै बाटो बगाउने र हिलो हुने समस्याले कतिबेला दुर्घटना हुने हो भन्ने भय रहिरहने सवारी साचलकहरुले बताएका छन् । वर्षाका कारण ढुङ्गा र माटो सहितको लेदो खसिरहेकाले ठाउँ ठाउँमा पहिरो जाने क्रम भने अझै नरोकिएकाले यात्रु तथा सवारी साधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोंच छिचोलेर उर्लदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भीरबाट आउने पहिरो रहेको बेनी–जोमसोम सडकखण्डको अधिकांश भाग खतरायुक्त छ । यो सडक २०६२/०६३ सालमा तत्कालिन शाही नेपाली सेनाले ट्र्याक खोलेपछि सञ्चालनमा आएको हो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत तीन वर्षदेखि स्तरोन्नति र गत वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर, प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढी पहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा वर्षेनी यात्रीले सास्ती खेप्दै आउनुपरेको स्थानीयको भनाइ छ ।
भीरकाटे र बादरजुङे भीरमा सडक बनाउन नयाँ प्रविधि भित्राउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम शुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको छ । यो सडक कालोपत्र भएमा म्याग्दी र मुस्ताङमा पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने प्रतिनिधिसभा सदस्य प्रेम प्रसाद तुलाचनले बताए ।