काठमाडौं। गाँजा र अफिम खेतीमा प्रख्यात मकवानपुरको दुई गाउँपालिका राक्सिराङ र कैलाशमा पिस पार्क निर्माण भइरहेको छ।
सिमपानीको वन क्षेत्रमा राक्सिराङ र कैलाशमा उत्पादित लागूऔषध गाँजा तस्करीको अखडा थियो। यस क्षेत्रमा गाँजा ल्याएर भण्डार गर्ने र भारत ओसार पसार गर्ने गरिन्थ्यो। यसले त्यहाँका स्थानीय आजित भएका थिए। यस्ता अवैध कामले स्थानीयहरू डर, त्रासमा बस्नु परेको अवस्था थियो। तर अहिले त्यो अवस्था हराएको छ। तस्करहरूले हक जमाईरहेको वन क्षेत्र मुलुकमा संघीयता आएपछि भने शान्त बनेको छ।
गाउँपालिकाले पिस पार्कको बहुवर्षीय योजना अन्तर्गत् ४६ करोडको डीपीआर बनाएर कार्यान्वयन गरेको छ। सो पार्कमा २५ प्रतिशत संरचना निर्माण भइसकेको छ। ७ हेक्टर क्षेत्रफलमा बागमती प्रदेश सरकार र गाउँपालिका, राष्ट्रपति चुरे मधेश संरक्षण कार्यक्रम, सांसद विकास कोषको लगानीमा पिस पार्क निर्माण भइरहेको हो।
सो पार्क निर्माणमा हालसम्म प्रदेश सरकारले ६० लाख र गाउँपालिकाले ५० लाख र संघसंस्था तथा व्यक्तिबाट करिब १५ लाख रुपैयाँ लगानी भएको गाउँपालिकाको अध्यक्ष जानकारी दिएका छन्। पार्क निर्माण गर्नुको उद्देश्य जिल्लाको पर्यटन प्रवद्र्धन गर्नु रहेको छ। सो पार्क निर्माण भएपछि जिल्ला तथा जिल्ला बाहिरका पर्यटकहरु आउने साथै बाह्य पर्यटक पनि भ्रमणमा आउने गाउँपालिकाको अपेक्षा रहेको छ।
पार्कमा आकर्षक डिजाइनका पार्क, बुद्धको मूर्ति, व्यवस्थित प्रतिक्षालय, शौचालय, ध्यान केन्द्र लगायतका भौतिक संरचना निर्माण भइसकेका छन्। पार्कमा पोखरी, बाल उद्यान, पिकनिक स्पटहरू निर्माण हुने योजना रहेको छ। हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र अन्य दुई पार्कको व्यवस्थापन र पिस पार्कमै रहेको आमा घरको सञ्चालन गर्दै आएको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र हेटौंडाले नै पिस पार्क व्यवस्थापनको पनि जिम्मा लिएको छ।
सो पार्क नजिकै वन क्षेत्रमा गाउँपालिकाले ४ करोड अनुमानित लागता रहेको ६५ फिट अग्लो बुद्ध मूर्ति पनि निर्माण गरिरहेको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेर मूर्ति निर्माणको काम सुरु गरेको थियो। हालसम्म मूर्तिको जग स्थापना गरिसकेको र आर्थिक स्रोतका लागि संघीयदेखि प्रदेश सरकार धाइरहेको जनाइएको छ।।