काठमाडौं। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल, मण्डनदेउपुर नगरपालिका र तेमाल गाउँपालिकामा सञ्चालित बृहत् खानेपानी आयोजना निर्माण अहिले धमाधम भइरहेको छ।
पाँचखालमा निर्माणाधीन सुनकोसी–पाँचखाल बृहत् खानेपानी आयोजनाको करिब आधा काम सकिएको आयोजनाले जानकारी दिएको छ। त्यहाँका ४० हजार नागरिकलाई खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ सो आयोजनाको निर्माण गरिएको हो।
हाल सुनकोसीबाट पलाञ्चोकसम्म पानी लिफ्ट गर्न तीनवटा लिफ्ट ट्याङ्की निर्माण भइरहेको र ११ वटा वितरण ट्याङ्कीमध्ये ८ वटा निर्माण भइसकेको जनाइएको छ। यसैगरी १३० किलोमिटर पाइप लाइन खनेर पाइप बिछ्याउने र पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण सम्पन्न भएको छ। उक्त खोपानी आयोजना १ अर्ब ३५ करोड लागतमा निर्माण भइरहेको छ। हाल उक्त आयोजनाको चार लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माणका लागि फाउन्डेसन खन्ने काम भइरहेको छ।
यसैगरी निर्माणाधीन तेमाल बृहत् खानेपानी आयोजनाको करिब ८६ प्रतिशत काम सम्पन्न भएको छ। आगामी चैत महिनाभित्र नागरिकलाई खानेपानी उपलब्ध गराउने गरी काम भइरहेको तेमाल बृहत् खानेपानी आयोजनाका अध्यक्षले जनाएका छन्। रिजर्भवायर ट्याङ्की निर्माण र सुनकोसी नदीबाट पानी लिफ्ट गरी तेमालको याङ्बेलदेखि नारायणस्थानसम्मको ट्याङ्कीमा पानी परीक्षणको काम सकिएको जनाइएको छ।
१ अर्ब २७ करोड रुपियाँ लागतमा निर्माण भइरहेको आयोजनाअन्तर्गत रोसी गाउँपालिकाको कटुञ्जेमा ३० हजार लिटर क्षमताको ट्याङ्की निर्माण छिट्टै सुरु हुने भएको छ भने सो खानेपानी आयोजना निर्माण भएपछि तेमाल गाउँपालिकाका र नमोबुद्ध नगरपालिकाको वडा नं. ३, ४, ५ र रोसी गाउँपालिकाको वडा नं. ७ का ९ हजार ३१० घरधुरीका नागरिक लाभान्वित हुने भएका छन्।
यसैगरी मण्डनदेउपुर नगरपालिकामा निर्माण भइरहेको मण्डनदेउपुर सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजनाको एक चौथाइ काम सकिएको छ। अहिले उक्त खानेपानी आयेजनाको ट्याङ्की र पानी प्रशोधन केन्द्र निर्माण भइरहेको छ। उक्त खानेपानी आयोजना निर्माण भएपछि नगरका ५ हजार ५०५ घरधुरी लाभान्वित हुनेछन्। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको सहयोगमा भ्याटसहित ५३ करोड ९१ लाख बढी लागतमा खानेपानी योजना निर्माण हुने भएको हो।