पोखरा। गण्डकी प्रदेश निर्माण व्यवसायी सङ्घ गण्डकीको अध्यक्षमा कास्कीका टङ्कराज बराल निर्वाचित भएका छन्। निर्माण व्यवसायी सङ्घको पोखरामा सम्पन्न भएको प्रारम्भिक साधारण सभा एवं अधिवेशनले बरालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
समितिको उपाध्यक्षमा गोरखाका त्रय बाबुराम श्रेष्ठ, बागलुङका युवराज राजभण्डारी र तनहुँका रत्नकुमार श्रेष्ठ, महासचिवमा कास्कीका कृष्णप्रसाद लम्साल, सचिवद्धयमा कास्कीका दामोदर घिमिरे र नवलपुरका प्रेम अर्याल, कोषाध्यक्षमा कास्कीका दीपेन्द्र आचार्य र सह कोषाध्यक्षमा स्याङ्जाका हलिममिया निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा कविता श्रेष्ठ, विश्वराज खनाल, भीम राना, सूर्यनारायण बराल, जगतबहादुर थापा, दलबहादुर राना, ऋषि गौतम, प्रकाश बाँनिया, दीपक थापा, रोशन के.सी, सन्तबहादुर नेपाली चयन भएका छन्। कार्यसमितिमा प्रदेशका ११ जिल्लाका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ। निर्माण व्यवसायी सङ्घ नेपालका केन्द्रीय अध्यक्ष रवि सिंहले अधिवेशनको उद्धघाटन गर्दै राज्यले तत्काल सार्वजनिक खरिद ऐन संशोधनमा जोड दिनुपर्ने बताएका छन्।
निर्माण व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष एडि लामा, राजेन्द्र पहारी, महासचिव रोशन दाहाल र सङ्घका मानार्थ सदस्य शिवशंकर गौतमले हक अधिकारका लागि व्यवसायीहरू सङ्गठित भएर अघि बढ्नु पर्नेमा जोड दिँदै तोकिएको समयसँगै गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने जनाएका छन्। सो कार्यक्रममा प्रदेश अन्तर्गत ११ जिल्लाका २५३ जना निर्माण व्यवसायीहरु सहभागी रहेका थिए।